सुत्केरीको चुलो बलेन

सुत्केरीको चुलो बलेन

राजविराज : आधा भाग भत्किएको घरको भुइँमा पुरानो रातो सारी बिछ्याइएको छ । काखमा १९ दिनकी शिशु राखेर बसेकी सुत्केरी मनोरमा देवको मुहार मलिन छ । डेरा भाडा तिर्न नसकेर निकालिएपछि विष्णुपुर गाउँपालिका–६ स्थित आमाकहाँ आ श्रय लिएकी उनी हालै अस्पतालबाट फर्किएकी हुन् ।

सुत्केरी भएको एक सातामा रक्तस्राव हुन थालेपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । उनले अस्पतालबाट फर्किंदा डाक्टरले लेखिदिएको पुर्जा ल्याइन् । त्यसमा भिटामिन लेखिएको छ ।

नवजात शिशु कुपोषित छिन् । उपचार कसरी गर्ने भनेर उनलाई चिन्ता छ । न औषधि किन्ने पैसा छ न त गाँसको व्यवस्था गर्ने उपाय । आँगनमा बनाएको माटाको चुलोे वर्षाले पगालेर विरूप बनाइदिएको छ । ‘चुलो नबलेको तीन दिन भयो’, उनले भनिन्, ‘औषधि कहाँबाट किन्नु ? ’

छेउमा रहेको खाली खाटमा पाँच वर्षकी जेठी छोरी भोकै सुतेकी थिइन् । चार वर्षकी माइली छोरी घर अगाडि घाममा बुवालाई पर्खिंदै थिइन् । उनीहरूले विद्यालय देख्न पाएका छैनन् । उनीहरूका बुवा राधेश्याम साहुलाई तिर्नुपर्ने किस्ताको सय रुपैयाँ जम्मा पारेर घरबाहिर निस्किएका रहेछन् ।

‘बिक्री गर्न साहुबाट ल्याएको ३ सयको तरकारी पनि अस्पतालमा उपचाररत रहँदा कुहियो’, मनोरमाले भनिन्, ‘साहुले अर्को पटक उधारो नदिने भनेर धम्क्याएपछि नानीका बुवा तत्काल १ सय रुपैयाँ तिर्न गएका हुन् । तर, बजारबाट खानेकुरा ल्याउँछन् भनेर छोरीहरू आस गरिरहेका छन् ।’

राधेश्याम बजार गएको चार घण्टामा पनि आएका थिएनन् । ‘सायद खाली हात के घर फर्किनु भनेर नआएका होलान्’, उनले आफैंलाई सान्तवना दिइन् ।

राधेश्यामले राजविराजकै साहुबाट २–३ सय रुपैयाँको तरकारी किनेर बेच्दै आएका थिए । कोभिड–१९ रोकथामका लागि लकडाउन भएपछि उनले राम्रोसँग तरकारी बेच्न पाएका छैनन् । श्रीमती सुत्केरी र बिरामी भएपछि अस्पताल कुर्नुपर्दा साहुबाट ल्याएको तरकारी खान नमिल्ने भयो । त्यसकै पैसा तिर्नुपर्ने भएको छ ।

अस्पतालले अल्ट्रासाउन्ड गर्न पहिला पैसा दिन भन्यो । उनीहरूले पैसा तिर्न नसक्दा एक दयालुले बिल काटिदिए । एक चिकित्सकले ३ सय रुपैयाँमा अल्ट्रासाउन्ड गरिदिए । ‘यस्ता बिरामी धेरै आउँछन् तर गर्भवती, सुत्केरीको उपचारका लागि ४–५ सय रुपैयाँसमेत नभएर तड्पिएको देख्दा मन रुन्छ’, नर्स सुनिता यादवले भनिन् । बिरामीमा मानसिक समस्यासमेत देखिएको उनले सुनाइन् ।

सप्तरीको विषहरिया गाउँबाट थातथलो उठेपछि राधेश्यामले राजविराजको थानगाछीमा डेरा लिई दोबाटोमा तरकारी बेच्न थाले । गरिबीमाथि लकडाउनले काम गर्न नपाएपछि उनीहरूलाई दैनिक छाक टार्न मुस्किल छ । सुत्केरी भएलगत्तै श्रीमती बिरामी पर्दा झनै पीडा थपिएको छ ।

डेरा भाडा तिर्न नसक्दा निकालिएपछि उनी सासूआमा मञ्जुदेवीसँग बस्न थालेका छन् । वृद्धा मञ्जुदेवीकी एक्लो सन्तान भएकीले मनोरमाको सिंगो परिवारले आ श्रय त पायो तर खानेकुरा छैन । पाँच धुर जग्गामा बनेको मञ्जुदेवीको घरको एउटा कोठा भत्किएर बस्नै नहुने छ । अर्को पानी चुहिने कोठामै उनीहरू सुत्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.