जुनार जोगाउन बोटमा रातो रिवन
सिन्धुली : जुनारको फल जोगाउन बोटमा रातो रिवन बाँधिएको छ। जुनारको बगैँचालाई फल कुहाउने औंसा किराबाट जोगाउँन प्रोटिन वेट छिट्नुपर्ने भएपछि त्यस्ता बोटमा रातो रंगको रिवन बाँधिएको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जुनार सुपरजोनले आफ्नो पकेट क्षेत्रका जुनार बगैँचामा रिवन बाँधिएको कार्यालयले जनायो।
कमलामाई नगरपालिका-३ जलकन्या, सुनकोसी गाउँपालिका ७ मझुवा, गोलन्जोर गाउँपालिकाको रतनचुरा, भुवनेश्वरी, तिनकन्या, वितिजोर, नाकाझोली क्षेत्रका एक हजार ३ सय ४५ हेक्टर क्षेत्रमा लगाइएको जुनार बगैँचामा औंसा किराको प्रकोप छ। त्यस्ता बगैँचामा फैलिएको औंसा किरा नियन्त्रणका लागि जुनार सुपरजोनले प्रोटिन वेट छिट्न थालेपछि जुनारको बोटमा रिवन बाँधिएको जुनार सुपरजोन परियोजनाका प्रमुख देवराज अधिकारीले बताए।‘यस्तो प्रोटिन बेट छिट्ने जुनारको बोट पहिचान गरी प्राविधिकहरुले रातो रिबन बाँधेर छुट्याएका हुन्,’ उनले भने।
प्रोटिन ब्रेट छिट्नका लागि किसानहरुको १२ लाख ५० हजार र सुपरजोन परियोजनाले १२ लाख ५० हजार थपगरी २५ लाख रुपैयाँ लगानी गरिएको छ। अधिकारीका अनुसार सुपरजोन कार्यक्षेत्रका कृषकहरुको जुनारमा ३५ जना स्प्रेकर्ताहरु परिचालन गरेर १२ हप्तासम्म छिटिन्छ। जुनारको फल कुहाउने औंसा किराको पोथि झिँगालाई फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजीगर्ने भएपछि प्रोटिन बेट जुनारमा स्प्रे गर्दा जुनारको बोटमा आउने झिँगा मार्न सहज हुने बताईन्छ।
यो सस्तो र भरपर्दो प्रविधि हो। यस्तो स्प्रे गरिएको ठाउँमा किराहरु झुम्मिएर आउँछन र मर्ने गर्दछ। जिल्लामा दुई हजार किसानहरु जुनार सुपरजोन परियोजनामा सुचिकृत छन्। गत आवमा जिल्लामा ८ हजार ८ सय ८१ मेक्ट्रीकटन जुनार उत्पादन भएको थियो।