जबरजस्ती मान्छे कोच्दा दुर्घटना

जबरजस्ती मान्छे कोच्दा दुर्घटना

कालिकोट/सुर्खेत : भारतबाट आएकाहरूको व्यवस्थापनमा चरम लापरबाही हुँदा कालिकोटमा दुर्घटना भएको छ। जिल्लाको रास्कोट नगरपालिकाले भारतबाट फर्किएकाहरूलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा बुधबार टिपर कर्णाली नदीमा खस्यो। दुर्घटनामा दुई जनाको ज्यान गएको छ। यस्तै, दुई जना बेपत्ता छन् भने १२ जना घाइतेको उपचार भइरहेको छ।

दुर्घटनाको मुख्य कारण नगरपालिकाको फितलो व्यवस्थापन र चालकको गम्भिर लापरबाही देखिएको छ। भारतबाट फर्किएका ३९ जनालाई जबरजस्ती टिपरमा कोचिएको र यात्रुले जान नमानेपछि विवाद भएको थियो। सामानले नै टिपर भरिएको र कोचाकोच गरी नजाने भन्दै यात्रुहरू झर्न थालेपछि चालकसँग विवाद भएको थियो। प्रत्यक्षदर्शीका अनुसार त्यहीक्रममा भनाभन भएपछि चालकले रिसको झोकमा गुडिरहेको टिपर छाडेर भागेका थिए। चालकले छाडेपछि टिपर गुड्दै नदीमा खसेको थियो।

दुर्घटनामा बाँच्न सफल रास्कोटका रमेश शाहीले भने, ‘हामीले टिपरमा कोच्चिएर जान्नौं भनेका थियौं, तर चालक र त्यहाँ रहेका प्रहरीले नै नगरपालिकाले सबैलाई ल्याउनु भनेका छन् भन्दै जबजरस्ती चढाए। त्यहीक्रममा कोच्चिएर नजाने भन्दै केही साथीहरू झर्‍यौं, हामीले जान नमानेपछि रिसको झोकमा चालकले नै गुडिरहेको टिपर छाडेर भागे।’ विवादपछि चालकले गुडिरहेकै अवस्थामा छाडेर भागेपछि ना ८ ख ५१३३ नम्बरको टिपर लालीघाटस्थित सडकबाट नदीमा खसेको प्रत्यक्षदर्शी धनरुप कुमालले बताए।

दुर्घटनामा रास्कोट नगरपालिकाका सर्मीला सार्की र थुम्की सार्कीको मृत्य भएको हो। यस्तै, रास्कोटकै मन्ना कुमाल र सरिता सार्की बेपत्ता भएका छन्। दुर्घटनामा गम्भीर घाइते निस्पता सार्की र मीन सार्कीलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ। बाँकी १० जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। यस्तै २३ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

‘हामीले जान नमान्दा पनि टिपर गुडेकै थियो, सक्नेहरूले त टिपरबाट हाम फाल्यौं,’ दुर्घटनामा ज्यान जोगाएका लालबहादुर बमले भने,‘नसक्नेहरू टिपरमै थिए, त्यहीबेला ड्राइभर गुडिरहेको गाडी छाडेर भाग्यो। गाडी नदीमा जानेबेलासम्म आधामात्रै चढेका थिए, भाग्यले बाँचियो।’

चालकले भने आफूमाथि हातपात भएपछि टिपर छाडेर भागेको प्रहरीलाई बयान दिएका छन्। चालक रास्कोट निवासी जयलाल धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि घटनास्थल पुगेका थिए। टिपरमा चढाएर लग्न लागिएकाहरू सबै भारतबाट आएका हुन्। उनीहरू मंगलबार साँझ कालिकोटको हुल्म बजार पुगेका थिए। स्थानीयका अनुसार दुर्घटनामा परेको टिपरले यसअघि पनि जिल्लामा भारतबाट आएकाहरूलाई ओसार्ने गरेको थियो।

हालसम्म रास्कोट नगरपालिका, पचालझरना गाँउपालिका, पलाँता गाँउपालिका र सान्नीत्रिवेणी गाँउपालिकाको क्वारेन्टाइनमा राखिएका सबैलाई ओसार्न सोही टिपर प्रयोग भएको स्थानीयको भनाइ छ।

‘हात दिएकी थिइन्, बचाउनै सकिन’

रास्कोटमा धनरुप कुमाल पत्नी मन्ना कुमालसहित गत पुसमा भारत गएका थिए। मजदुरी गरेर उनीहरू लुगाफाटो र घरायसी खर्च चलाउनका लागि ५० हजार नगद ल्याएर फर्किए। तर, धनरुपले भारतमा कमाएको धन घर पुर्‍याउन पाएनन्। उनी घरको आँगनमा पुग्न नपाउँदै टिपर दुर्घटना परे। तर, उनी हाम फालेर आफूत बाँचे। पत्नी मन्नालाई बचाउन सकेनन्।

उनले भने, ‘मैले त टिपरबाट हाम फालेँ, पत्नीले मलाई तान्नुस् भनेर एउटा खुट्टा टिपरभन्दा बाहिर ल्याएर हात दिएकी थिइन्। मैले समात्ने प्रयास गरँे, तर उनको हात समाउन नपाँउदै टिपर भीरमा खस्यो।’ आफूले हेर्दाहेर्दै टिपर र पत्नी पनि नदीमा डुबेको उनले सुनाए। उनी अहिले नदीमा बेपत्ता भएकी छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले भने, ‘दुःख गरेर कमाएको पैसा मैले फजुल खर्च गरिहाल्छ भनेर सबै पैसा आफैंसँग राखेकी थिइन्। उनलाई त बचाउँन सकिन, अब त्यो सम्पतीको के लोभ ? ’ मन्ना गर्भवती थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.