संक्रमितलाई राख्न स्कुल र क्याम्पसमै आइसोलेसन
दैलेख : दैलेखमा स्कुल र क्याम्पसलाई नै आइसोलेसन बनाइएको छ। कोरोना संक्रमितको संख्या धेरै भएपछि उनीहरूको व्यवस्थापनमा सकस भएपछि यसअघि क्वारेन्टाइनमा प्रयोग भएका स्कुल र क्याम्पसलाई नै आइसोलेसनको रूपमा प्रयोग गर्न थालिएको हो।
दैलेखमा संक्रमितको संख्या बिहीबारसम्म चारसय ३४ पुगेको छ। जिल्लाको ११ स्थानीय तहमध्ये १० वटा स्थानीय तहका नागरिकमा कोरोना संक्रमण देखिएको छ। हालसम्म कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएका छन्। संक्रमितमध्ये नारायणका एक सय ९४, दुल्लुका ३९, चामुण्डा विन्द्रासैनीका एक र आठबीस नगरपालिकाका दुई जना छन्। यस्तै डुङगेश्वरका ६७, महाबुका एक सय ८, भैरबीका दुई, गुराँसका दुई, भगवतीमाईका नौ र नौमूले गाउँपालिकाका १० जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्थानीय तहहरूले विकल्पको खोजी गर्दै सामुदायिक विद्यालय र क्याम्पसमा आइसोलेसन निर्माण गरेका हुन्। मजदुरीका लागि भारत गएकाहरू फर्किन थालेपछि उनीहरूलाई राख्न यसअघि विद्यालय र क्याम्पसमा बनाइएको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने विकल्प खोजिएको हो। महाबु गाउँपालिकाका एकसय सात जना संक्रमितलाई गाउँपालिकाले विभिन्न वडामा रहेका चारवटा सामुदायिक विद्यालयमा निर्माण गरेको आइसोलेसनमा राखिएको अध्यक्ष जंगबहादुर शाहीले बताए।
दुल्लु नगरपालिकाले संक्रमितलाई दोणाञ्चल क्याम्पसमा राखेको छ। ‘स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई क्याम्पसमा राखेका छौं’, दुल्लु नगरका मेयर घनश्याम भण्डारीले भने। कोरोनाका बिरामीलाई थप उपचार आवश्यक परेकोमा दुल्लु नगरपालिका–६ को छिउडीपुसाकोटस्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको कोरोना विशेष अस्प्तालमा राखेर उपचार गरिने मेयर भण्डारीले बताए। भारतबाट आएकामा धमाधम कोरोना संक्रमण देखिन थालेपछि विद्यालय र क्याम्पसलाई आइसोलेसन बार्ड बनाइएको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले बताए।
सरस्वती मावि तर्ताङमा दैलेख अस्पतालको आइसोलेसन बार्ड बनाइएको छ। यस्तै नारायण क्याम्पस, त्रिभुवन मावि, सरस्वती बृद्धाआ श्रमलाई आइसोलेसनका रूपमा प्रयोग गरिएको मेयर खड्काले बताए। ती आइसोलेसनमा शंकास्पदसहित संक्रमितको उपचार भइरहेको छ। आइसोलेसन बनाइएका विद्यालय र क्याम्पसमा स्थानमा बसाइ व्यवस्थापनसँगै पर्याप्त शौचालय, खानेपानी, सरससफाई सामग्री अभाव छ।