दोलखा डेरीमा अनुगमन समितिको छापा, बन्द गर्न निर्देशन
चरिकोट : दुग्ध विकास संस्थानद्वारा सञ्चालित दोलखा डेरीमा जिल्ला अनुगमन समिति दोलखाले बिहीबार छापा मारेको छ । अनुगमन समितिले छापा मार्ने क्रममा एकमहिनादेखि उत्पादन मिति र मूल्य उल्लेख नगरिकन नै दुग्धजन्य उत्पादन बिक्री गरेको भेटिएपछि भीमेश्वर नगरपालिका–२, चोथाङस्थित उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
सदरमुकाम चरिकोटमा बिहीबार दुईओटा उद्योग र पाँचओटा पसल गरी ७ ओटामा अनुगमन तथा छापा मार्दा दोलखा डेरीले उत्पादन मिति, मूल्य र कम परिमाणको प्याकेट भेटिएपछि उद्योग बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजितकुमार झाले जानकारी दिए । प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ अनुसार पुर्जी काटेर उद्योग बन्द गरी कागजातसहित उपस्थित हुन निर्देशन दिईएको प्रमुख झाले जानकारी दिए ।
दोलखा डेरीले एकमहिनादेखि उत्पादन र म्याद नाघ्ने मिति नराखेको, मूल्य उल्लेख नगरेको र आधा लिटर उल्लेख दुध दहिमा १० देखि २५ मिलिलिटर कम परिमाण भेटिएको अनुगमन समितिले जनाएको छ । दोलखा डेरीलाई प्रादेशिक व्यापार तथा व्यवसाय सम्वन्धी ऐन २०७६ को दफा ६१ को जरीवाना सम्बन्धी व्यवस्थाको उपदफा ३ अनुसार ५० हजारदेखि ७५ हजारसम्म जरीवाना गरिने कार्यालय प्रमुख झाले जानकारी दिए । दोलखा डेरीका लेखा प्रमुख प्रदीप शिवाकोटीले मेसिन बिग्रिएकोले विवरणहरु उल्लेख नगरी बिक्री गरेको बताए ।
५८ बोरा मैदाको पीठो जफत
अनुगमन समितिले भीमेश्वर नगरपालिका–३, चरिघ्याङस्थित माँ पलाञ्चोक बेकरी उद्योगमा समेत छापा मारेको थियो । छापाको क्रममा सो बेकरी उद्योगबाट ३ महिनादेखि म्याद नाघेको मैदाको पिठोबाट पाउरोटी लगायतका खाद्य सामाग्री बनाएको पाइएपछि गोदाममा रहेको ५८ बोरा मैदाको पीठो जफत गरी सिल गरिएको प्रमुख झाले जानकारी दिए । चरिकोटका फलफुल पसलमा अनुगमन गर्दा प्रतिकेस ७ सय रुपैयाँमा किनेर १४ सय रुपैयाँमा बिक्री गरेका भेटिएपछि स्पष्टिकरणसहित जरिवानाको लागि कार्यालयमा हाजिर हुन निर्देशन दिईएको झाले जानकारी दिए ।