ट्वीटरले हटाइदियो झण्डै १० लाख चीन समर्थित ट्वीटर एकाउण्ट
बेइजिङ : चीन समर्थित सन्देशलाई फैलाउने उद्देश्यका साथ सञ्चालित भन्दै ट्वीटरले ९ लाख ७० हजार ट्वीटर एकाउन्ट हटाएको छ ।
ती एकाउन्टहरु एक मिसन मार्फत सञ्चालन भएको ट्वीटरको बुझाइ छ । तीमध्ये कोरोना भाइरसको महामारीबारे पनि केही पोस्ट थिए । यसवाहेक रुस आधारित गलत प्रचारवाजी गर्ने एकाउन्ट पनि ठूलो संख्यामा हटाएको जनाएको छ । यस्ता एकाउन्ट एक हजार भन्दा धेरै रहेको बताइन्छ ।
यसअघि ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटलाई झुटो दावी भन्दै लुकाइदिएको थियो । साथै उक्त ट्वीटलाई फ्याक्ट चेकका लागि सिफारिस गरेपछि ट्रम्प ट्वीटरमाथि आक्रोशित बनेका थिए ।
पछिल्लो समय ट्वीटरले प्रसिद्ध व्यक्तित्वहरुका ट्वीटमाथि पनि निगरानी बढाएको छ । साथै झुटो दावी, हिंसा भड्काउने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका ट्वीटर एकाउन्टलाई ट्वीटरले ब्लक गरिदिने वा जवाफदेही बनाउने गरेको छ ।