कोरोना कहर : आरडीटी पोजिटिभ देखिएकाको व्यवस्थापनमा समस्या
बैतडी : जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेकामध्ये शुक्रबारसम्म ५७६ जनाको आरडीटी पोजिटिभ देखिएको छ । आरडीटी पोजिटिभ देखिएकामध्ये ३३३ जनाको मात्रै स्वाब संकलन भएको छ । बाँकी २४३ जनाको स्वाब संकलन हुन सकेको छैन् । आरडीटी पोजिटिभ देखिका तर स्वाब संकलन नभएका नागरिकलाई क्वारेन्टाइनमा राख्न निकै असहज भएको मल्लादेही स्वास्थ्यचौकीका प्रमुख हेमराज भट्टले बताए ।
उनले भने, 'आरडीटी पोजिटिभ देखिएकालाई कति दिनसम्म क्वारेन्टाइनमा राख्ने टुंगो छैन । धेरैजसो स्वाब नै सकंलन हुन सकेको छैन् । यसले गर्दा क्वारेन्टाइन व्यवस्थापनमा समेत चुनौती देखिएको छ ।'
स्वाब संकलन गरिएका ३३३ जनामध्ये ४१ जनाको मात्रै रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ । स्वाब संकलन भएको एक हप्ता बढी भइसकेको भएपनि रिपोट नआउँदा महिनादिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता रही आएको शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनका एकजनाले बताए ।
पहिला पठाएका स्वाबको समेत रिपोर्ट नआएकाले आरडीटी पोजिटिभ देखिएका अन्य नागरिकको स्वाब संकलन नभएको
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
आरडीटी कीटको अभाव
जिल्लामा आरडीटी कीट अभाव भएपछि क्वारेन्टाइनमा बसेका नागरिकलाई घर पठाउन समस्या भएको छ । भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा १४ दिन पूरा गरेका नागरिकलाई घर पठाउन समस्या भएको हो । १४ दिने क्वारेन्टाइन बसाइपछि आरडीटी चेक गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने भनिएको भएपनि कीटको अभावमा परीक्षण गर्न सकिने अवस्था नरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
उनले भने, 'हाम्रो पालिकामा ३ सय बढी नागरिक क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये धेरैजसोलाई १४ दिन पूरा भइसकेको छ । तर कीट अभावमा परीक्षण गर्न सकिएको छैन् ।' आरडीटी कीट अभावमा क्वारेन्टाइनमा बसेका नागरिकको परीक्षणमा समस्या भएको मल्लादेही स्वास्थ्यचौकीका प्रमुख हेमराज भट्टले बताए ।
जिल्लाका १०वटै स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा ३ हजार ९ सय जना छन् । उनीहरुमध्ये अधिकांशले १४ दिन पूरा गरिसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारसँग कीट मौज्दात नरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले
बताए ।
संघ र प्रदेश सरकारले आरडीटी कीट पठाउन छोडेपछि बैतडीका स्थानीय तहहरु आफैले कीट किन्ने तयारी गरेका छन् । क्वारेन्टाइनमा बसेका नागरिकको कम्तीमा आरडीटी परीक्षण गर्नैपर्ने भएकाले कीट किन्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए ।
उनले भने, 'प्रदेश सरकार र संघीय सरकारबाट तत्काल कीट प्राप्त हुने अवस्था नभएपछि हामीले धनगढीबाट कीट किन्ने निर्णय गरेका छौं । क्वारेन्टाइनमा बसेकाहरुलाई बिनाजाँच कसरी पठाउने ? पाटन नगरपालिकाले चारसय कीट खरीद गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने ,'नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा चार सयको हाराहारीमा नागरिक क्वारेन्टाइनमा छन् । उनीहरुको आरडीटी परीक्षणका लागि कीट किनेका हौं ।'
जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि तत्कालका लागि २ सय आरडीटी कीट खरीद गरेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । जिल्लाको पुर्चौंडी नगरपालिका,सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले आफै कीट किन्ने तयारी गरेका छन् ।