'धौलागिरिको चिसो हावा सिंहदरबार पठाउँछौं, पीसीआर पठाइदेउ'
बागलुङ : सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा उदासीन बनेको भन्दै बागलुङका युवाहरू आइतबार विरोधमा उत्रिएका छन् । कोरोना संकटका बीच विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले संयमित र सिर्जनशिल विरोधको शैली अपनाएका छन् ।
उनीहरुले बागलुङ बजारको लोकतान्त्रिक चोकमा सामाजिक दूरी कायम गर्दै सरकारलाई खबरदारी गर्ने वजिभिन्न प्ले कार्डसहित प्रर्दशन गरेका थिए । देशमा कोरोना भाइरस (कोभिड—१९) को नियन्त्रणका लागि ८० दिनभन्दा बढी लकडाउन गर्दा पनि यसबीचमा सरकारले आवश्यक तयारी नगरेको र संक्रमण दैनिक फैलिदो क्रममा भएकाले सरकारलाई खबरदारी स्वरुप स्वतन्त्र रुपमा प्रर्दशन गरिएको सुमन जिसीले बताए ।
मध्यान्हको टण्टलापुर चर्को घामका बाबजुद युवाले 'धौलागिरीको चिसो हावा सिहंदरबार पठाइदिन्छौँ, पीसीआर मेसिन धौलागिरी पठाउदेऊ', 'त्रास के को ? कोरोनाको कि सरकारको लापरवाहीको ?', 'बाँचुन्जेल लाठीचार्ज हाहाकार मरेपछि पिसीआर', 'यत्रो दिन बसाएर घर, कहाँबाट तिर्ने कर ?', 'चिया छानेको १० अर्ब पचाउन कति जानेको', 'भन्छौ कोरोनाको उपचार लसुन अदुवा बेसार, बढाऔ पीसीआर' लगायतका प्ले कार्ड बोकेका थिए ।
युवाहरुले प्रर्दशनका बीच देशभक्ति गीत गाएका थिए भने राष्ट्रिय गानसहित विरोध कार्यक्रमम बिसर्जन गरेका थिए ।