प्रकाशन गृहमा पाण्डुलिपि जलप

प्रकाशन गृहमा पाण्डुलिपि जलप

काठमाडौं : कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण नेपालमा प्रत्यक्ष असर पारेका क्षेत्रमध्ये पुस्तक प्रकाशन गृह पनि एक हो । यसको काम अहिले ठप्प प्रायः छ । यस्तो अवस्थामा प्रकाशन गृहहरूले के गरिरहेका छन् त ?

लकडाउनका कारण पुस्तकहरू प्रकाशन हुन नसके पनि पनि पाठकहरूले आफ्नो रुचिअनुसारको पुस्तक पढ्न पाऊन् र पठन कार्यमा कुनै असर नपारोस् भनेर तीन साता पहिलेदेखि बुकहिल प्रकाशन गृहले पुस्तक होम डेलिभरीको काम गरिरहेको बुकहिलका कार्यकारी प्रमुख भूपेन्द्र खड्काले बताए । उनले नेपाली पाठकले कस्ता पुस्तक पढ्न रुचाउँछन् भनेर उनीहरूको मनोविज्ञान बुझ्न पनि यो अभियान चलाएको बताए । भन्छन्, ‘यस बीचमा उच्च वर्ग, राजनीतिज्ञ, बौद्धिक वर्ग आदिहरूले खासगरी गैरआख्यान पुस्तक मगाए ।’

गत वर्षकै थुप्रै पुस्तकहरू प्रेसमा पुगिसकेर पनि प्रकाशनमा आउन नसकेको अवस्थामा नयाँ पुस्तक आउँदैछ भनेर अहिले नै भन्न नसकिने बताउँछन् खड्का । ‘लकडाउन खुलेर मात्र पनि हुँदैन, यसको बजार पहिलेको अवस्थामा नआएसम्म नयाँ पुस्तक प्रकाशन गर्ने सोच छैन’, उनले भने ।

तत्काल पुस्तक निकाल्ने सोच नभए पनि यसबीचमा बुकहिल प्रकाशन गृहलाई थुप्रै पुस्तकका पाण्डुलिपि प्राप्त भएको छ । लकडाउनको अवधिमा खड्का आफंैले दर्जनभन्दा बढी पाण्डुलिपि सम्पादन गरेका छन् । सम्पादनबारे उनको भनाइ छ, ‘कहिलेकाहीँ लेखकको मेहनत नपुगेको देखिन्छ भने मेहनत गरिएर लेखिएको किताबमा सम्पादनको पनि कमजोरी देखिनुले राम्रो पुस्तक पनि कमजोर जस्तो हुन्छ । यसमा बढी मेहनत गर्नुपर्छ ।’

उता आफ्नो प्रकाशन गृह अन्य प्रकाशन गृहभन्दा फरक भएको बताउने अक्षर क्रियसनकी सञ्चालिका अर्चना थापाले पनि लकडाउनले पुस्तक प्रकाशनको काममा निकै प्रभाव परेको बताइन् । उनले वर्षमा जम्मा दुई, तीनवटा पुस्तक मात्र प्रकाशनमा ल्याउने गरेकी छन् । यो वर्ष पनि दुईवटा पुस्तक प्रकाशनको अन्तिम तयारीमा थियो तर लकडाउनका कारण स्थगित भयो । तयारी अवस्थामा रहेको पुस्तकमा एउटा ‘महिला, पुरुष र तेस्रो लिंगीहरूको आत्म

सँगालो’ र अर्को सन् २०१० मा आफंैले अंग्रेजी भाषामा महिलाहरूको आत्मानुभूतिहरूको सँगालो रहेको ‘टेलिङ अ टेल’ को केही परिमार्जनसहितको पाण्डुलिपि रहेको छ ।

थापा थप्छिन्, ‘अक्षर क्रियसनका पुस्तकहरू ‘ई–पुस्तक’ मार्फत उपलब्ध छन् । तर, नयाँ प्रकाशन भने अलि समय नै लाग्ला ।’ उनी अचेल कथा लेखन र पठनपाठनमा व्यस्त छिन् ।

फाइन प्रिन्टका सञ्चालक अजित बरालले लकडाउनका कारण एउटा पुस्तक प्रकाशन गर्दा प्रकाशन गृहले गर्ने जति पनि प्रक्रिया हुन्छन् ती सबै एकनासले ठप्प भएको बताउँछन् । र, यो लकडाउन अवधिमा मात्र होइन । यसको असर कहिलेसम्म पुग्ला, त्यसको पनि कुनै टुंगो नरहेको बताउँछन् उनी । ‘पुस्तक प्रकाशन गर्नु, त्यसको प्रमोसनको काम, विमोचन, वितरण, पैसा उठाउनु आदि जस्ता प्रकाशन गृहले गर्ने काम पूर्ण रूपमा ठप्प भएको छ’, बराल भन्छन्, ‘तर, घरमै बसेर हुने काम जस्तै, नयाँ नयाँ पाण्डुलिपि पढ्ने, सम्पादन गर्ने, लेखकहरूसँगको कुराकानी आदि भने जारी छ ।’

गत वर्ष दसंैपछि ‘नेपाल लिटरेचर फेस्टिभल लिटरेचर’ को तयारीमा लागेको फाइन प्रिन्ट चैत नभए यो वैशाखमा पुस्तक विमोचन गर्ने योजनामा थियो । तर, लकडाउनले सबै चौपट बनायो । मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद, जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावार’, डा. राजु अधिकारीको ‘आखिर रोज्ने के ? ’ र राजीव उपाध्यायको अंग्रेजी पुस्तकलगायतको चार पुस्तक तयार भएर विमोचन रोकिएको बरालले बताए ।

आम्दानी भए पनि नभए पनि अन्य व्यापारिक क्षेत्र जस्तै प्रकाशन गृहले पनि खर्च गरिरहनु परेकाले लकडाउन खुले पनि धेरै समय आर्थिक समस्या पर्ने बताउँछन् बराल । उनका अनुसार फाइन प्रिन्टबाट नयाँ लेखक सुरेश बडालको कथासंग्रह, डा. बाबुराम भट्टराईको लेखहरूको सँगालो, नयनराज पाण्डेको स्वरकाल्पनिक शैलीमा लेखिएका कथाहरूको सँगालो, निरञ्जन कुँवरको ‘कमिङ आउट मेमोएर’ लगायतका पुस्तकका पाण्डुलिपि पनि सम्पादन भई प्रकाशन अन्तिम तयारीमा छन् ।

‘गत वर्ष विमोचनका लागि तयारी अवस्थामा रहेका पुस्तक र यो वर्ष पनि तीन महिनासम्म काम गर्न नमिलेपछि अब लकडाउन खुल्यो भने यो वर्ष अलि चाप बढ्ला जस्तो लागेको छ’, बरालले भने । ०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.