परीक्षण सुस्तः बागलुङका ८ सय स्वाब पोखराको प्रयोगशालामा
बागलुङ : गण्डकी प्रदेशमा परीक्षण सुस्त हुँदा क्वारेन्टाइन बसेकाहरु थप सकस र संक्रमणको जोखिममा परेका छन् । अहिले बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका मात्रै १७ सय बढी छन् । यसमध्ये ८ सय बढीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । तर, पछिल्लो एक सातादेखि जिल्लाको पीसीआर रिपोर्ट नआएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
अहिले स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर समेत स्वाब संकलन गरिरहेका छन् । यद्यपी पोखरामा पीसीआर रिपोर्टमा ढिलाई हुँदा क्वारेन्टाइनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाइ भएको गुनासो गरेका छन् ।'हामीले स्वाब संकलन गरी पीसीआरका लागि पठाएका ८ सय बढीको पीसीआर रिपोर्ट आउन निकै ढिलाइ भएको छ, 'स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, 'लामो समय क्वारेन्टाइनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्,अब पीसीआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाउन थालिएको छ ।' यो रिपोर्ट आउँदा क्वारेन्टाइन बसेकालाई अझै कति दिन गुजार्नु पर्ने हो एकिन छैन ।
गुरौका अनुसार, अझै ४ सय बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न नै बाँकी छ । पोखरा पीसीआरका लागि स्वाब पठाएकाको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ । यसका लागि छलफल चलिरहेको र छिट्टै निर्णयमा पुगिने गुरौले जानकारी दिए ।
अहिले जिल्लामा कुल संक्रमित संख्या ४० पुगेको छ । जसमा सुरुमा दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् । बाँकी धौलागिरी अस्पताल, धौलागिरी क्याम्पस र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् ।
गण्डकी प्रदेशमा हालसम्म ८ हजार ४ सय ४३ संकलित नमुनामध्ये ५ हजार ८ सय ६२ पीसीआर परीक्षण गरिएको छ । जसमा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अझै २ हजार ३ सय ७६ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । संक्रमित मध्ये २० जना निको भएका छन् भने प्रदेशमा एकजनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वाथ्य निर्देशनालयले भने पीसीआर परीक्षणको दायरालाई फराकिलो बनाइरहेको बताएको छ । सुरुमा १२ घण्टाको परीक्षण अवधि बढाएर अहिले १८ घण्टा पुर्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्मा बताउँछन् । 'अब दैनिक ५ सय बढीको परीक्षण गर्ने गरी उपकरण र जनशक्ति व्यवस्थापन गरिरहेका छौं, डा.शर्माले भने, 'अहिले विभिन्न जिल्लामा ल्याबमा रहेको दक्ष जनशक्ति पोखरा तानेका छौं, केही करारमा पनि राखिसकेका छौं, शर्माले थपे, 'नयाँ मेसिन खरिदका लागि टेण्डर भएर अहिले काम अन्तिम चरणमा छ, अहिले भारतबाट आउनेको संख्या उच्च रहेकाले केही चाप भए पनि अब गति र दायरा फराकिलो बनाएर परीक्षणलाई तीव्रता दिन्छौं।'