प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड (पूर्णपाठ)
जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। कूल विनियोजन मध्ये चालु तर्फ रु. १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगत तर्फ रु. १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रहेको छ। त्यसैगरी वित्तीय व्यवस्था तर्फ रु. १६ करोड छ।
बजेटमा कोभिड-१९ महामारी पहिचान, रोकथाम, नियन्त्रण र उपचारका लागि आवाश्यक सामग्री खरिद गर्न ७० करोड २७ लाख विनियोजन गरिएको छ। जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन ४५ करोड ५६ लाख बजेटको व्यवस्था गरिएको छ। जनता आवास कार्यक्रमलाई प्रदेश सरकारले उल्लेख्य लगानीको व्यवस्थासहित निरन्तरता दिन ८० करोड ७४ लाख बजेट विनियोजन गरेको छ।
भौतिक पूर्वाधार विकास तर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक नालासहितको २ लेन कालोपत्रे ५ किलोमिटर सडक निर्माण गरिने सरकारको तयारी छ। जसका लागि कम्तिमा ६४ वडा सडकका लागि ६७ करोड २० लाख बजेट विनियोजन गरिएको छ। प्रदेशभित्र सप्तरीदेखि पर्सासम्मको मधेसी सहिद राजमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ३ करोड विनियोजन गरिएको छ। प्रदेशमा खानेपानी, ढल तथा अन्य सार्वजनिक शौचालय निर्माणको लागि ३२ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ।
गत वर्षको तुलनामा आकारमा बजेट सानो भए पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम भने कटौती गरिएको छैन्। यस कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। प्रदेशभित्रका स्थानीय तहहरुलाई आगामी आर्थिक वर्षमा सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान बापत रु २ अर्ब ८३ करोड ६० लाख विनियोजन गरिएको हो।
आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकार अन्तर्गत सञ्चालित विकास कार्यक्रमहरुको उपभोक्ता समितिलाई भुक्तानी हुन बाँकी रहेको ८६ करोड ५० लाख रुपैयाँ बजेट पनि आगामी आर्थिक वर्षमा तिरिने गरी बजेट विनियोजन गरिएको छ। भविष्यमा यस्तो प्रकृतिको भुक्तानीको लागि नजीर नबस्ने गरी उक्त बाँकी रकम सम्बन्धित मन्त्रालय, डिभिजन र कार्यालयहरुको माँगका आधारमा भुक्तानी गरिने छ।