स्याङ्जामा थपिए ४ जना कोरोना संक्रमित
स्याङजा : स्याङ्जामा ४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ६४ पुगेको छ । चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका १८, १८ , ३५ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी गराए ।
संक्रमित ४ जनालाई गल्याङ नगरपालिकाको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि गल्याङ नगरपालिकाले ३ स्थित बल्पुकमा रहेको गल्याङ नगर अस्पतालमा यसैसाता ५० शैयाको आइसोलेसन बनाएको हो ।
स्याङ्जाका ७ जनाले कोरोना जितेर घर फर्केका छन् । पोखराको आइसोलेनमा २ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भइसकेको छ। उनीहरुका जेठ २९ गते २८ जना र ३१ गते ५६ जनाको नमूना स्वाब संकलन गरी पोखरा पठाइएकोमा ४ जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताए ।
स्याङजामा अझै ५ सय १६ जनाको पीसीआर रिपार्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।