काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार मात्र काठमाडौंमा २ पुरुष,२ महिला र ललितपुरकी १ महिलामा कोरोना संक्रमण देखिएको थियो।
यस्तै मंगलबार एकै दिन ३८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको हो। नयाँ संक्रमितमध्ये ६ हजार ९२ पुरुष र महिला ४९९ महिला रहेका छन्।
सोमबार मात्रै ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ४३ हजार ७३८ र आरडीटी विधिबाट २ लाख २३ हजार ५१९ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ०५५ र आरडीटी विधिबाट ४ हजार १८३ जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३ हजार ०९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार ५३१ जना रहेका छन्। ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा ५०३ रहेका छन्।
यस्तै मंगलबार थप ११७ जना डिस्चार्ज भएका छन् । प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ११७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या ११ सय ५८ पुगेको छ। नयाँ डिस्चार्ज हुनेमा १०९ पुरुष र जना ८ महिला छन्। यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार रेड जोनमा ५०३ जना रहेका छन्।