संक्रमित बोक्दै, क्वारेन्टाइनमा बस्दै एम्बुलेन्स चालक
बागलुङ : बानपा ३ की ६५ बर्षीया महिला नेपालको छैठौ तथा जिल्लाको दोस्रो कोरोना संक्रमित पुष्टि हुँदा रेडक्रसको एम्बुलेन्स चालक धौलागिरी अस्पतालमै चाबी फालेर फरार भए । आफ्नो परिवार रहेको र सुरक्षाको कारण देखाउँदै चालक भागेपछि अपराह्न कोरोना पुष्टि भएकी महिलालाई पाँच मिनेटको दुरीमा रहेको धौलागिरी अस्पताल ल्याउन ७ घण्टा बढी समय लाग्यो । अन्ततः अरु एम्बुलेन्स चालक तयार नभएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्ना कार्यालयका चालक लिएर संक्रमितलाई अस्पताल ल्याएका थिए ।
कोरोना भयावहको संशयबीच काठेखोला गाउँपालिकामा आरडिटी परीक्षण गर्दा अर्की एक महिलामा रिपोर्ट पोजिटिभ देखिएपछि गाउँपालिकासँग सहकार्य गरेका स्थानीय रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक उसै गरी फरार भए । प्रहरीका चालकको सहयोगमा उनलाई क्वारेन्टाइनसम्म ल्याएर राखियो । गाउँपालिकाले भोलिपल्टै सम्झौता तोडेर बैकल्पिक व्यवस्था गर्न बाध्य बन्यो ।
एम्बुलेन्स चालक नै मानसिक रुपमा तयारी नभएपछि पटक-पटक समस्या नदोहोरियोस् भनेर स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल र जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा जिल्लाका ७ एम्बुलेन्स चालक र स्वाथ्य कार्यलय बागलुङका १ जना चालकलाई प्रशिक्षण दिएको थियो । जसमध्ये अहिलेसम्म बडिगाढ गाउँपालिकाका २ जना, गल्कोट नगरपालिकाका १ जना, ताराखोला गाउँपालिकाका १ जना र जिल्ला प्रहरी बागलुङका एम्बुलेन्स चालक १ जना गरी ५ जनाले कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्याउने काम गरिरहेका छन् ।
‘एक जोर पीपीइ, एक जोर माक्स र एक थान सेनिटाइजर । त्यसैको भरमा १२ जना कोरोना संक्रमित बोकिसकें’, बागलुङको बडिगाड गाउँपालिका–७ का एम्बुलेन्स चालक रहेका अनुज क्षत्रीले बिद्यमान कोरोना संकटको सकससहितको जिम्मेवारी र अनुभव सुनाउँदै भने, ‘उच्च जोखिमका बीच काम गरिरहे पनि हाम्रो बारेमा सम्बन्धित निकायले संवेदनशिलता बोध गरेको देखिएन, २० दिनसम्म मेरो कोरोना परीक्षण गरिएको छैन ।’
जीवनको उर्जाशील समयको १५ वर्ष अन्य सवारी साधन चलाएका क्षत्री नौ महिनादेखि बडिगाडको एम्बुलेन्स चलाउँदै आएको बताउँछन् । सवारी चालकको जिम्मेवारीको बर्षौं लामो सफर बीच पछिल्लो २० दिनमा जति डर, त्रास जीवनमा कहिल्यै नलागेको उनले बताए । ‘आफ्नो गाउँ, समाजका दाजुभाइ दिदीबहिनीलाई अप्ठ्यारो पर्दा मैले काम गर्दिनँ भनेर समस्या र जिम्मेवारीबाट भाग्न सकिनँ,’ उनले भने, ‘यसरी जिम्मेवारी निभाउँदा पनि सरोकारवाला निकायले कोरोना परीक्षण नगरिदिँदा दुःख र डर बढी लागिरहेको छ ।’ कोरोना संक्रमितलाई अस्पताल पुर्याए पछि ग्वालीचौर स्वास्थ्य चौकीमा बडिगाड गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेको उनको भनाइ छ ।
बडिगाड गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका ३ सय भन्दा बढीको अझै पनि स्वाब परीक्षण हुन बाँकी छ । उनीहरुको स्वाब परीक्षण भएर रिपोर्ट आएपछि आफ्नो पनि स्वाब संकलन गरेर पीसीआर परीक्षण हुन्छ कि भन्ने आशामा बसेको क्षत्रीले बताए ।
अनुजसँगै ग्वालीचौर स्वास्थ्य चौकीको क्वारेन्टाइनमा अर्का एम्बुलेन्स चालक राजेन्द्र खत्री पनि छन् । अनुजको जस्तै राजेन्द्र पनि एउटै गुनासो छ । 'किन हाम्रो कोरोना परीक्षण अहिले सम्म गरिएन ? बडिगाड गाउँपालिकाका र विभिन्न क्वारेन्टाइनबाट १० जना संक्रमितलाई धौलागिरी अस्पतालको आइसोलेसनसम्म पुर्याउने काम गरें', राजेन्द्रले भने, ‘संक्रमित भेटिएपछि पहिले अस्पताल पुर्याउन फकाउन आएका जनप्रतिनिधि अहिले कस्तो छ भनेर सोध्नसमेत आउनुभएको छैन । कोरोना नै लाग्यो भने के हालत होला ?’
क्वारेन्टाइनमा बस्न थालेको दिन गनिरहेको उल्लेख गर्दै उनले नागरिकको रुपमा कठिन समय र संकटमा पनि जिम्मेवारी पुरा गरिएको तर जनप्रतिनिधि र कर्मचारीले चालकका बारेमा गम्भीर्यता नदेखाएको गुनासो गरे । जिल्लामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा एम्बुलेन्स चालकको मनोबल बढाउनतर्फ कसैको ध्यान नगएको उनको गुनासो छ । अहिलेसम्म कोरोना परीक्षण गरिएको छैन भन्दा परिवारबाट जागिर छोड्न दबाव आउन थालेको उनले बताए । ‘अबका दिनमा पनि संक्रमित बोक्छु, जहिलेसम्म कोरोना निर्मुल हुँदैन, तबसम्म बोक्न तयार छु,’ राजेन्द्रले भने, ‘तर म सुरक्षित छु-छैन भन्नेमा त ढुक्क बनाउनु पर्यो नि ।’
राजेन्द्र र अनुज संक्रमित बोके पनि हालसम्म क्वारेन्टाइनमा बसिरहेका छन् । तर, ताराखोला गाउँपालिकाका एम्बुलेन्स चालक रमेश खत्री भने संक्रमित बोकेको ७२ घण्टा क्वारेन्टाइनमा बसेपछि निरन्तर अन्य बिरामी बोक्ने गरेको बताउँछन् । ‘अस्पतालमा संक्रमित पुर्याएँ, मालढुङ्गामा गएर एम्बुलेन्स सेनिटाइज गरेँ,’ खत्रीले भने, ‘कसैले पनि क्वारेन्टाइनमा बस्नु पर्छ नभनेकाले ७२ घण्टा एक्लै बसेर पुनः काममा फर्किएको छु ।’ अहिलेसम्म आफ्नो कोरोना परीक्षण नगरिएकाले अन्य बिरामी बोक्ने गरेको भए पनि मनमा डर लाग्ने गरेको उनले बताए ।
त्यसयता खत्रीले बागलुङका स्वास्थ्य संस्थामा मात्र नभएर पोखरासम्म पनि बिरामी पुर्याएको बताए । कोरोना संक्रमणबाट जोगिन घाममा बस्नु पर्छ भन्ने सुनेकाले संक्रमितलाई अस्पताल पुर्याएको दिन दिनभरि एम्बुलेन्सलाई घाममा राखेर आफू पनि घाममा बसेको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव सुरज गुरौले भने पीपीई लगाएर संक्रमित ओसोर पोसार गर्दा संक्रमणको जोखिम नहुने बताए । ‘चालकलाई सुरक्षित भएर सवारी चलाउनका लागि अनिवार्य रुपमा पीपीईको व्यवस्था गरिएको छ,’ गुरौले भने, ‘संक्रमित राख्न एम्बुलेन्सनको पार्टेशन गरिएको छ, त्यसका साथै पीपीई लगाएपछि संक्रमण जोखिम हुँदैन ।’ यदी चालकले पीपीई बीच बीचमा खोल्ने र लगाउने गरेमा भने जोखिम हुन सक्ने बताए । संक्रमित उद्दार गर्न थालेको दुई साता भन्दा बढी समय भएको र कतिपय संक्रमितसमेत निको भएर घर फर्किसकेको अवस्थामा चालकले अनावश्यक चिन्ता गर्न आवश्यक नरहेको गुरौको भनाइ छ ।