महामारीमा निरन्तर सिकाइ

महामारीमा निरन्तर सिकाइ

विश्वविद्यालयीय परीक्षा सम्बन्धमा भएका अन्योल हटाउन सरकारले छिटै उपयुक्त निर्णय लिँदै छ


विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ को महामारीका कारण जनजीवन प्रभावित छ। यसले मानव स्वास्थ्यका अतिरिक्त आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको छ। महामारीबाट नेपालको शिक्षा क्षेत्र पनि प्रभावित छ। नियमित पठनपाठनको औपचारिक प्रक्रिया अवरुद्ध भएको छ। कोभिड– १९ को महामारीले निम्त्याएको संकटका सन्दर्भमा देखा परेका चुनौतीलाई अवसरमा बदलेर शिक्षा क्षेत्रमा नवीन, सिर्जनात्मक र प्रवर्तनात्मक कदम चाल्न आवश्यक छ।

कोभिड– १९ को महामारीको प्रभाव कम पार्न नेपाल सरकारले चैत ११ देखि बन्दाबन्दीको नीति अवलम्बन गरेको सर्वविदितै छ। अहिलेको विषम परिस्थितिका कारण शिक्षा क्षेत्र प्रभावित भएको छ। प्रारम्भिक बालशिक्षाका ११ लाख ३१ हजार ९१ बालबालिका प्रभावित छन्। त्यसैगरी विद्यालय शिक्षाका निम्नानुसार संख्यामा विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विपद्का समयमा बनाउनुपर्ने दृष्टिकोण, सञ्चालन गर्नुपर्ने नीति तथा कार्यक्रम, चाल्नुपर्ने कदमका सम्बन्धमा अध्ययन गरी संक्रमणकालीन वा आपत्कालीन कार्ययोजना निर्माण गर्न पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको नेतृत्वमा २०७६ साल चैत १५ गते मन्त्रीस्तरीय निर्णयबाट उच्चस्तरीय समिति र त्यसअन्तर्गत ६ वटा उपसमिति गठन गरिएको थियो। यस समितिको अध्ययन तथा महामारीको स्थिति विश्लेषण गरी आफ्नो प्रतिवेदन मन्त्रालयसमक्ष पेस गरेको थियो। उच्चस्तरीय समितिको सुझाव, सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरेर गत जेठ १८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ निरन्तरतासम्बन्धी निर्देशिका, २०७७ जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ।

कोभिड– १९ को महामारीले हाम्रो औपचारिक एवम् पम्परागत शिक्षाको सीमिततालाई उजागर गरिदिएको छ। यसले शिक्षा क्षेत्रमा विशिष्ट अवसरहरू सिर्जना गरेको मैले महसुस गरेको छु। हामीले औपचारिक शिक्षा, किताबी शिक्षा, गुरुज्ञानलाई चेलामा हस्तान्तरण गर्ने शिक्षाको विकास गर्‍यौं। यसले व्यक्तिलाई यान्त्रिक बनाउनेतर्फ अग्रसर गरायो। अहिलेको महामारीका सन्दर्भमा मूलतः शिक्षा पद्धतिमा तीन विषयमा रूपान्तरणको अवसर प्राप्त भएको मलाई लागेको छ। पहिलो, विद्यार्थीमा स्वअध्ययन, मनन र बुझाइका प्रक्रियाबाट शिक्षा लिने बानी बसाल्ने अवसर प्राप्त भएको छ।

स्वसिकाइमा केन्द्रित हुँदा शिक्षक, विज्ञ, पुस्तक, इन्टरनेट, मिडिया आदिको प्रयोग गर्न पनि यसले सिकाएको छ। घरपरिवारलाई नै लघु विद्यालय (मिनी स्कूल) बनाउन प्रेरित गरेको छ। दोस्रो, आमनेसामने भएर शिक्षा आर्जन गर्ने प्रणालीको विकल्प र परिपूरकका रूपमा वैकल्पिक शिक्षा पद्धतिलाई स्वीकार गर्न बाध्य बनाएकाले अब खुला तथा दूरशिक्षा, वैकल्पिक शिक्षा, अनौपचारिक शिक्षा विकासमा तीव्रता ल्याउन हामीलाई प्रेरित गरेको छ। तेस्रो विषय, प्रविधिमा आधारित औद्योगिक क्रान्तिका बीच आर्टिफिसियल इन्टेलिजेन्स युगमा सूचना तथा सञ्चार प्रविधिलाई अधिकतम अंगीकार नगरिनहुने पाठ सिकाएको छ। शिक्षामा आईसीटीको अधिकतम प्रयोग गर्ने अवसर सिर्जना गरिदिएको छ।

समग्रमा भन्दा ज्ञान हस्तान्तरणमा केन्द्रित विद्यमान शिक्षा प्रणालीमा रूपान्तरण गरी ज्ञान हस्तान्तरणका साथै ज्ञान निर्माणमा केन्द्रित शिक्षा प्रणाली विकास गर्ने अवसर हामीलाई प्राप्त भएको छ। स्वसिकाइ दिगो र प्रभावशाली हुने, जीवनपर्यन्त तथा जीवनोपयोगी सिकाइमा जोड दिनुपर्ने, प्रविधिको उच्चतम् प्रयोगबाट सिकाइमा तीव्रता दिनुपर्ने स्पष्ट भइसकेकाले अब विद्यार्थी, शिक्षक र शिक्षामा सरोकार राख्ने सबैले यस दिशामा आफूलाई अग्रसर गराउन जरुरी छ। शिक्षा प्रणालीलाई यस दिशामा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु।

शैक्षिक सत्र क्षति हुन नदिनेतर्फ सरकार सजग रहेकाले यसले सम्पूर्ण विद्यार्थी तथा अभिभावकका भावना सम्बोधन गर्ने मैले विश्वास लिएको छु।

वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ मा विद्यार्थीको स्रोतसाधनमा पहुँचको अवस्थाका आधारमा स्थानीय तह तथा विद्यालयले विद्यार्थीको पहिचान एवम् वर्गीकरण गर्ने आधार तय गरिएका छन्। ती आधारमा पहिलो, सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, दोस्रो, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह, तेस्रो, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, चौथो, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह, पाँचौं, इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह र छैटौं माथिका पाँचै समूहमा राख्न नसकिने अपांगता तथा विशेष आवश्यकता भएका बालबालिकाको समूह गरी ६ प्रकारमा वर्गीकरण गरिएको छ। ६ प्रकारकै बालबालिकाको सिकाइ निरन्तरता हुने गरी कार्यक्रम सञ्चालन निर्देशित गरिएको छ।

माथि उल्लेख गरिएका स्रोतसाधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान एवम् वर्गीकरण कोभिड– १९ को महामारी कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीका माध्यमबाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइमा सहजीकरण गर्न मन्त्रालयबाट सबै प्रदेश तथा स्थानीय तहहरूलाई आह्वान गरिसकिएको र सोबमोजिम अधिकांश स्थानीय तहमा कार्यक्रम प्रारम्भ पनि भइसकेको छ। बाँकी स्थानीय तह र प्रदेशलाई पनि यथाशीघ्र कार्यक्रम अघि बढाउन मन्त्रालयको तर्फबाट अनुरोध गर्न चाहन्छु।

अहिलेको विषम परिस्थितिमा घरमै बसेर सिकाइको निरन्तरता गर्नुको विकल्प छैन। विद्यमान चुनौतीलाई अवसरमा बदल्दै यस संकटको घडीमा पनि विद्यार्थीको सिकाइ निरन्तरताका लागि यही असार १ गतेबाट वैकल्पिक पद्धतिबाट सिकाइ निरन्तरताका कार्यक्रम सञ्चालन प्रारम्भ गरिसकिएको छ। मूलतः स्वअध्ययन, होमस्कुलिङ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षाजस्ता मोडालिटी प्रयोगमा ल्याइएको छ। यी कार्यक्रममध्ये बालबालिकाले आफूसँग भएको अध्ययन साधनका आधारमा कुनै पनि माध्यमबाट सिक्न सक्ने गरी समानान्तर रूपमा कार्यक्रम सञ्चालन गरिएकाले यसबाट सम्पूर्ण बालबालिका लाभान्वित हुने सक्ने अपेक्षा गरिएको छ। दूर तथा भर्चुअल पद्धतिमा अभ्यस्त नभइसकेको विद्यमान अवस्थामा प्रारम्भिक चरणमा केही अलमल र कार्यक्रमबाट वञ्चित हुन सक्ने जोखिम रहेकाले १५ दिनमै यसको समीक्षा गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने मन्त्रालयको योजना रहेको जानकारी गराउन चाहन्छु। यस कार्यक्रमलाई सफल पार्न माननीयज्यूहरूसँग पनि आफ्नो स्थानबाट सकारात्मक भूमिका खेलिदिन अनुरोध गर्दछु। कार्यक्रमबाट कोही बालबालिका नछुटून् भन्ने मान्यताअनुसार सबैको पहुँच सुनिश्चित गर्न विद्यालय तथा स्थानीय तहलाई अनुरोध गर्छु।

कोभिड– १९ को महामारीका कारण विद्यालय शिक्षाका कक्षा १०, ११ र १२ को परीक्षा तथा विश्वविद्यालयका विभिन्न वर्ष तथा सेमेस्टरका परीक्षा अवरुद्ध भएका छन्। यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदन्तर्गतका विभिन्न कार्यक्रमको परीक्षासमेत हुन सकिरहेका छैनन्। अवरुद्ध भएको कक्षा १० को परीक्षालाई हालको विशिष्ट परिस्थितिलाई विचार गरी विद्यालयले लिएको आन्तरिक मूल्यांकनलाई आधार मानी राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने निर्णय नेपाल सरकारले गरिसकेको छ। ११ कक्षाको परीक्षा र प्रमाणीकरण सम्बन्धमा पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार लिने गरी निर्णयका लागि अन्तिम गृहकार्य भइरहेको छ। विद्यालय शिक्षाको अन्त्यमा लिइने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को भने परिस्थितिअनुकूल भएपछि उच्च स्वास्थ्य सुरक्षा सावधानीसहित परीक्षा सञ्चालन गर्ने योजना रहेको छ।

विश्वविद्यालयका विभिन्न परीक्षाका सम्बन्धमा भएका अन्योल हटाउन महामारीको फैलावटलाई आकलन गरी सरकारले छिटै उपयुक्त निर्णय लिने कुरा स्पष्ट पार्न चाहन्छु। स्नातक तह, स्नातकोत्तर तहलगायत सबै तहका अन्तिम वर्ष वा अन्तिम सेमेस्टरका परीक्षाहरू केही समय कुरेर भए पनि उपयुक्त समयमा सञ्चालन गर्ने हाल अन्तिमबाहेक अघिल्ला सेमेस्टरको पढाइ सकेर बसेका विद्यार्थीलाई परीक्षा नलिईकन पनि अर्को सेमेस्टरमा पढाइ सुरु गर्न सक्ने गरी विश्वविद्यालयले गृहकार्य गरिरहेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदअन्तर्गतका विभिन्न कार्यक्रमको परीक्षा सञ्चालन सम्बन्धमा समेत अध्ययन भइरहेको छ। शैक्षिक सत्र क्षति हुन नदिनेतर्फ सरकार सजग रहेकाले यसले सम्पूर्ण विद्यार्थी तथा अभिभावकका भावना सम्बोधन गर्ने मैले विश्वास लिएको छु।

–पोखरेल शिक्षामन्त्री हुन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.