प्राथमिकतामा परेन खेलकुद
जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा खेलकुद क्षेत्र भने प्राथमिकतामा परेको छैन। प्रदेश सरकारले सार्वजनिक गरेको ३३ अर्ब रुपैयाँभन्दा बढीको बजेटमा खेलकुद क्षेत्र ओझेलमा परेको हो। ‘बजेटमा खेलकुदमैत्री पूर्वाधार विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिने छ’ लेखिए पनि त्यसअनुरूप बजेट भने विनियोजन गरिएको छैन।
युवावर्गको सर्वांगीण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका छ। तर, प्रदेशको बजेटमा यस क्षेत्रलाई प्राथमिकता नदिइनु दुःखद रहेको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरी बताउँछन्। ‘पहिला खेलकुद क्षेत्रको विकासका कुरा केन्द्रको बजेटमा मात्र निर्भर हुन्थ्यो’, अध्यक्ष चौधरी भन्छन्, ‘तर, अहिले प्रदेश सरकारले समेत खेलकुद क्षेत्रलाई उपेक्षा गर्दै आएको छ।’
विगतमा पनि खेलकुद क्षेत्रमा प्रदेश सरकारले कुनै लगानी नगरेको चौधरी बताउँछन्। ‘खेलकुद क्षेत्रमा भविष्य नदेखेपछि थुप्रै प्रतिभाशाली खेलाडी पलायन हुन लागेका छन्’, उनले भने, ‘अहिले पनि खेलकुद क्षेत्रको विकास गर्ने पर्याप्त सम्भावना छ। हामीसँग निकै क्षमतावान् खेलाडी छन् तर सरकारको प्रोत्साहन नपाउने हो भने अगाडि बढ्न समस्या हुन्छ।’
अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि खेलकुद क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गरिनुपर्ने चौधरी बताउँछन्। प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गर्दै आएको सितोरियो कराँतेका अन्तर्राष्ट्रिय रेफ्री वीरेन्द्र कर्ण बताउँछन्। ‘चालू आर्थिक वर्षको बजेटमा पनि खेलकुद क्षेत्रले प्राथमिकता पाएन। आगामी आर्थिक वर्षको बजेटको अवस्था त झनै निराशाजनक छ’, उनी भन्छन्।
कर्णले व्यक्तिगत पहलमा कराँते सिकाउँदै आएका छन्। प्रदेशमा व्यवस्थित रंगशाला र खेलाडीको अभ्यासका लागि खेलकुद सामग्रीको अभाव रहेको उनी बताउँछन्। ‘चालू आर्थिक वर्षको बजेटमा खेलकुदको नाममा किशोरीहरूलाई आत्मरक्षा तालिम दिन छुट्ट्याइएको तीन करोड रुपैयाँभन्दा बढी रकम दुई दिनको कार्यक्रम गरेर सकियो। आगामी वर्ष पनि खेलकुद प्राथमिकतामा परेन’, उनी भन्छन्।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख महेन्द्र महतोले खेलकुद क्षेत्रलाई बजेटमा समावेश गर्न महाशाखाबाट सुझाव दिइए पनि स्वीकृत नभएको बताए। महतोले भने, ‘बजेटमा किन खेलकुदका कार्यक्रम समावेश गरिएन, त्यो मलाई थाहा भएन। हामीले त समावेश गर्नका लागि सुझाव दिएका थियौं। त्यसपछि के भयो थाहा भएन।’ यस विषयमा थप बुझ्न सामाजिक विकासमन्त्री नवलकिशोर साहसँग पटकपटक टेलिफोन सम्पर्क गर्न खोजे पनि उनी अस्वस्थ रहेको जवाफ फर्काइयो।