वर्षाले घर भत्किँदा ६ जना घाइते
बेंसीसहर : लमजुङको बेंसीसहर नगरपालिका-११, चितिमा घर भत्किँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर छन् । दुई दिनदेखि परेको वर्षातका कारण घर भत्किँदा २ परिवारका ६ जना घाइते भएका हुन् । घरधनी ७० वर्षीय जुद्धबहादुर थापा, उनकी पत्नी किरण थापा साथै सोही घरमै डेरा गरी बस्ने ५३ वर्षीय लुकबहादुर गुरुङ, ४० वर्षीया सुशिला गुरुङ, १९ वर्षीय अमृत गुरुङ र १२ वर्षीया सरस्वती गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए ।
बिहीबार साँझ घर भत्किँदा घाइते भएकालाई स्थानीय र प्रहरीले राती ११ बजेतिर उद्धार गरी लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएका थिए । गम्भीर घाइते जुद्धबहादुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र अन्य घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
भारी वर्षाका कारण सडकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा उद्धारमा कठिनाइ भएको थियो । घटनास्थल सदरमुकाम बेंसीसहरबाट १ घण्टाको दूरीमा रहेपनि सडक अवरुद्ध भएका कारण घाइतेलाई अस्पताल ल्याउन ४ घण्टा लागेको बेंसीसहर नगरपालिका-११ का अध्यक्ष अच्युतबाबु बगालेले बताए ।