क्वारेन्टाइनबाटै गर्भवती फरार
राजविराज : राजविराज नगरपालिका-१ स्थित राजदेवी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट १६ वर्षीया एक किशोरी फरार भएकी छन् । क्वारेन्टाइनको कोठामा एक्लै बसेकी उनी सबै सुतेको मौका छोपी मध्यरातमा पानी परिरहेका बेला विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इन्चार्ज स्वास्थ्य सहसंयोजक हरिबंश यादवले बताए । गन्ती गर्ने क्रममा फेला नपरे पछि मात्र उनी भागेको थाहा पाएको स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवले बताए ।
प्रहरीले भने झ्यालबाट भागेको अनुमान गरेको छ ।उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खडकाले बताए । भारतको दिल्लीबाट बिहारको सुपौल कुनौली बजार हुँदै आएकी उनी जेठ २५ गतेदेखि क्वारेन्टाइनमा बस्न थालेको क्वारेन्टाइनको तथ्यांकमा उल्लेख छ।
इन्स्पेक्टर खडकाका अनुसार माघ १३ गते उनी तिलाठी कोइलाडी गाउँपालिकाका एक मौलबीसँग भागेर भारत गएको र लकडाउन भएपछि आमाको आग्रहमा राजविराज आएकी थिइन् । उनकी आमाले माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा हराएको भन्दै हुलिया जाहेरी समेत दिएकी थिइन् । एक्ली महिला मात्र भएकाले क्वारेन्टाइनका इन्चार्ज यादवले राजविराज ४ स्थित एक घरमा बनेको क्वारेन्टाइनमा राख्न वडा नम्बर ४ का वडा अध्यक्ष अख्तर अलीसँग अनुरोध गरेका थिए ।
तर सम्बन्धित वडाकी नभएकीले वडा अध्यक्षले उनलाई राख्न अस्विकार गरे । महिला स्वास्थ्यकर्मीलाई जानकारी दिएअनुसार उनी २ महिनाकी गर्भवती समेत छिन् । फरार भएकी किशोरीलाई पक्राउ गर्न प्रहरीलाई हम्मे परेको छ ।
यसअघि सोही क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै राजविराज नगरपालिका-१ का ३० वर्षीय युवक घर पुगेका थिए । कोरोना भाइरसको पीसीआर रिपोर्ट नआउँदै घर पुगेका युवकको रिपोर्ट पोजिटिभ आएपछि उनकी आमा, श्रीमति, एक छोरा र एक छोरीलाई क्वारेन्टाइनमा ल्याइएको राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितको दाह्री, केश काटने हजाम (ठाकुर)लाई समेत क्वारेन्टाइनमा ल्याइएको र युवकलाई राजविराज नगरपालिका-२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ ।
सोही कारण क्वारेन्टाइनमा खटिएका हेल्थ असिस्टेन्ट राजकुमार पटेललाई काज फिर्ता गरी विषहरिया स्वास्थ्य चौकी पठाइएको नगरपालिकाले जनाएको छ।