सुन तस्करी काण्ड : प्रहरी निरीक्षकसहित ४ प्रहरीविरुद्ध मुद्दा
काठमाडौं : सुन तस्करीमा संलग्न सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ लाख ५२ हजार विगो कायम गर्दै उनीहरुविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो।
सुन तस्कारीमा संलग्न प्रहरी हवल्दार रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीलाई प्रतिवादी बनाइएको छ। प्रहरी निरीक्षक नेपालसहित प्रहरी चौकीका सै १६ जानलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो।
अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्दै उनीहरुविरुद्ध उजरी परेको थियो।
२०७६ पुस ११ मा हवल्दार रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेका थिए। रिमालले अर्का हवल्दार खत्रीको सूचनाको आधारमा केरुङ नाकाबाट टिमुरे आउँदै गरेका कन्टेनर चौकी भित्र ल्याएर सुन कब्जा लिएको अनुसन्धानमा देखिएको छ।
प्रहरी निरीक्षक नेपाल र अर्का हल्वदार लामाले मिलोमतोमा सुन लुकाएका थिए। उनीहरु चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गरी बिगोको दोब्बर जरिवाना गर्न माग दाबी गरिएको छ।
उनीहरुविरुद्ध ४ देखि ६ वर्षसम्मको कैद सजायको माग गरिएको छ।