एउटै जहाजले ल्यायो २० बाकस

एउटै जहाजले ल्यायो २० बाकस

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा चालू आर्थिक वर्षको वैशाखसम्म आठ सय चार जनाको ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीको मृत्यु भएको छ। फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाले ज्यान गुमाएका थिए।

वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष सात सय ५४ जनाको मृत्यु भएको थियो। अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पछिल्लो तीन महिना (लकडाउन बेला)मा मृत्यु भएका कामदारको शव स्वदेश ल्याउन समस्या भएको थियो। रोजगारी गुमाएका कामदारसँगै शवसमेत चार्टर्ड उडानबाट ल्याउन थालिएको छ।

त्यही क्रममा शुक्रबार २४ नेपालीको शव नेपाल ल्याइएको छ। कोरोना भाइरसका कारण लामो समयदेखि विभिन्न मुलुकमा ती शव अलपत्र परेका थिए। अलपत्र परेका शव उद्घार हवाई सेवाबाट ल्याइएको हो।

वैदेशिक रोजगार प्रबद्र्घन बोर्डका अनुसार यसअघि छिटफुट रूपमा नेपाली कामदारको शव ल्याइएको थियो। कोरोना महामारीका कारण भने विभिन्न मुलुकबाट मृतक कामदारको शव ल्याउन सकिएको थिएन।

‘कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र शव शुक्रबारदेखि नेपाल ल्याउन सुरु गरिएको हो’, बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले शुक्रबार दोहाबाट २०, कुवेतबाट २ र यूएईबाट २ गरी २४ जनाको पार्थिवशरीर ल्याइएको बताए। दोहाबाट कतार एयरवेज, कुवेतबाट जजिरा एयरवेज र यूएईबाट नेपाल एयरलाइन्सले शव ल्याएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याएपछि केहीका परिवारले बुझेर लगेका छन्। केहीको शव मृतकको जिल्लामै पठाउने तयारी रहेको बोर्डले जनाएको छ।

कतारबाट महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, बर्दियाका सुकराम थारू, सर्लाहीका अरुणकुमार पन्जिपुर, मस्तक सैक र मनोज पासवान, धनुषाका चाउतारावा मण्डल खत्वे, रुपन्देहीका यमबहादुर थापा, मकवानपुरका जितेन्द्र थापा मगरको शव ल्याइएको हो। त्यस्तै, बाँकेका भक्तबहादुर थापा मगर, कपिलवस्तुका मोहम्मद आलम मुसलमान, लमजुङका कुम्बा तामाङ, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशिनन्द्र यादव र रुपेशकुमार मण्डलको शव ल्याइएको छ। सप्तरीका राजेन्द्रप्रसाद मण्डल, उदयपुरका मीनबहादुर थापा, सुर्खेतका नरबहादुर कामी, भोजपुरका धर्मकुमार थापा र मोरङका युवराज अधिकारीको शव कतारबाटै ल्याइएको हो।

कुवेतबाट संखुवासभाका मानबहादुर आले, नुवाकोटकी सोनी तामाङ र यूएईबाट सिन्धुपाल्चोकका पेम्बा नुर्बुको शव ल्याएको छ। बोर्डका अनुसार १ सय ८९ जनाको शव ल्याउन बाँकी छ। यसमध्ये कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ छ।

कोरोनाबाट साउदी अरबमा नौ, कतारमा चार, यूएईमा नौ र टर्कीमा एक जनाको ज्यान गएको थियो। बोर्डका अनुसार मलेसियाबाट ५४, साउदीबाट ६४, कतारबाट ३१, यूएईबाट १६, कुवेतबाट १५, बहराइनबाट ४, ओमानबाट १ र अन्य देशबाट ४ शव ल्याउन बाँकी छ।

तीन महिनायता मृत्यु भएकामध्ये ९७ जनाको सोही मुलुकमा दाहसंस्कार गर्ने सहमति परिवारले जनाइसकेका छन्। बोर्डले नेपालसहित अधिकांश देशमा कोरोनाका कारण लकडाउन भएकाले सोही देशमै दाहसंस्कार गर्न परिवारलाई प्रेरित गर्दै आएको छ।

नीतिगत निर्णय गरेर सम्बन्धित देशमा दाहसंस्कार गरे ५० हजार आर्थिक सहायता दिने निर्णय गरिएको छ। अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरवाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.