सप्तरीमा थप चार जनामा कोरोना संक्रमण
राजविराज : सप्तरीमा बुवा–छोरासहित चार जनामा कोरोना संक्रमण देखिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुवा–छोरासहित चार जनाामा कोरोना संक्रमण देखिएको हो ।
हनुमाननगर कंकालिनी नगरपालिका–४ का ४० र ११ वर्षीय बुवा–छोरा, १६ वर्षीय अर्का एक किशोर र वडा नम्बर–७ की ५० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक रामदेव यादवले बताए ।
भातको दिल्ली, जयपुरबाट आएका वडा नम्बर ४ का पुरुष हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर र अरहीस्थित विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । वडा नम्बर ७ की महिला वडा नम्बर ५ स्थित राप्रावि कोरियानीको क्वारेन्टइनमा बसेकी थिइन् ।
योसमेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ५५ पुगेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा ३२, हनुमाननगर कंकालिनी नगरपालिकामा ३१, बलान बिहुल गाउँपालिकामा २७, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिका र राजविराज नगरपालिकामा १३-१३, डाकनेश्वरी नगरपालिकामा १२, खडक र कञ्चनरुप नगरपालिकाका ३-३ जना, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा १-१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।
यसैगरी हालसम्म कोरोनालाई जितेर दुई प्रहरी, एक स्वास्थ्यकर्मीसहित ५७ जना घर फर्किएका छन् ।