कोरोना जित्दै घर फर्कँदै
कालिकोट : कालिकोटमा थप दुई जनाले कोरोना जितेर घर फर्किएका छन्। जिल्ला सदरमुकाम मान्मस्थित एकिकृत भवनमा रहेको आइसोलेसनमा भर्ना भएका एक महिला र एक जना पुरुष दुई जना कोरोना जितेर घर फर्किएका हुन्। यस अघि जेठ ३२ गते चार महिनाका शिशुसहित २५ जनाले कोरोना जितेर घर फकिएका थिए। उनीहरुलाई संक्रमण देखिएको करिव १४ दिन १८ दिनसम्म आइसोलेसनमा राखि पुन: पिसिआर जाँच गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएपछि स्वास्थ्य सेवा कार्यालय कालिकोटले २१ दिन थप होम क्वारेन्टाईनमा बस्न सल्लाह दिदै घर पठाएको हो।
जिल्ला सदरमुकाम स्थित एकिकृत भवनमा रहेको आइसोलेसनमा ४ जना थिए। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार ती मध्य शुभकालिका गाउँपालिका-५ का २६ वर्षका पुरुष र सान्नीत्रिवेणी गाउँपालिका- २ का २० वर्षीया महिलाले कोरोना जितेर घर फर्किएकी छन्। उनका अनुसार जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या २७ पुगेको छ। जिल्लामा जम्मा पुष्टि भएका संक्रमित ४३ जना मध्य अब आइसोलेसनमा १६ जना रहेका छन्। जस मध्य दुई जना जिल्ला सदरमुकाम मान्ममा एकिकृत भवनको आइसोलेसनमा छन भने १४ जना संक्रमित सान्नीत्रिवेणी गाउँपालिका-२ स्थित संकर मावि सेरीज्यूलामा रहेको आइसोलेसनमा छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
जिल्लामा अझै १ हजार ६ सय ९५ जना भारतबाट आएका मानिसहरु क्वारेन्टाइनमा राखिएका छन्। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार हालसम्म ३ हजार ६ सय ९२ जना मानिसहरुलाई क्वारेन्टाइनबाट कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको छ। हालसम्म स्वाब संकलन भएका ३ हजार ६ सय ९२ जना मध्य १ हजार ३३ सय १८ जनाको रिपोर्ट आउन बाँकी छ। क्वारेन्टाइनमा रहेका सबै मानिसहरुको पिसिआर जाँच सकिएपछि कोरोना जितेर घर पठाईएका संक्रमित र क्वारेन्टाइनबाट घर पठाइएका केही मानिसहरुको नमुनाका रुपमा स्वाब संकलन गरी परिक्षण गर्ने तयारी पनि रहेको स्वास्थ्य सेवा कार्यालले जनाएको छ।