रोपाइँ सुरु भयो, मल छैन

रोपाइँ सुरु भयो, मल छैन

सुर्खेत : कर्णालीमा रोपाइँ सुरु भए पनि किसानले मल पाउन सकेका छैनन्। लकडाउनका कारण बीउ राख्ने बेलामा मल नपाएका किसानले मलबिना नै रोपाइँ गर्नुपर्ने अवस्था आएको हो। किसान रोपाइँमा जुटेका बेला मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीको वीरेन्द्रनगरमा रहेको गोदाम पनि रित्तै छ।

मल पाउने आशमा किसान दिनहुँ कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धाउने गरेका छन्। तर, कम्पनीको गोदाममा हाल एक किलो पनि मल छैन। मल नपाउँदा किसान निराश भएर रित्तो हात फर्कन बाध्य छन्। कोरोना महामारीका कारण पीडित किसानलाई प्रदेश सरकारले मल र बीउ सहज रूपमा उपलब्ध गराउने घोषणा गरेको थियो। तर, रोपाइँको चटारो सुरु भइसक्दासमेत किसानले मल पाउन सकेका छैनन्।

वीरेन्द्रनगर–१ का किसान प्रकाश तारमी बिहीबार रासायनिक मल लिन स्थानीय हातेमालो कृषि सहकारी संस्थामा पुगे। तर, त्यहाँ डीएपी र पोटास मल पाएनन्। त्यसपछि मल खोज्दै उनी कृषि सामग्री कम्पनीमा पुगे। त्यहाँ पनि उनले मल पाउन सकेनन्। कम्पनीकै गोदाम खाली भएपछि उनी रित्तो हात फर्किन बाध्य भए। धान रोप्ने बेलामा मल नपाउने उनी एक्ला होइनन्। अचेल दैनिक किसान मल पाइने आशमा कृषि सामग्री कम्पनीको कार्यालयमा धाइरहेका छन्। तर, उनीहरू रित्तो हात फर्कने गरेका छन्।

खेतीको सयममा मल नपाउँदा जिल्ला भरका किसान समस्यामा छन्। सल्यानमा पनि दुई हप्तादेखि मलको अभाव छ। जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले किसान मल खोज्दै दिनहुँ आउने गरेको बताए। ‘जिल्लामा लकडाउनदेखि नै मल अभाव भएको हो, किसान दिनदिनै मल खोज्दै कार्यालयमा आउनुहुन्छ। तर, रित्तो हात फर्काउनु परेको छ, मल नै नहुँदा समस्या भयो।’ उनका अनुसार सल्यानमा दुई महिनादेखि मल अभाव छ। उनका अनुसार त्यहाँका किसानले मल नपाएरै बीउ राखेका थिए। अहिले रोपाइँ सुरु भइसक्दा पनि मल आपूर्ति गर्न नसकिएको उनको भनाइ छ।

लकडाउनपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा दुई गाडीमात्रै मल भित्रिएको उनले जनाए। सुर्खेत र सल्यानमा मात्रै होइन, कर्णालीका दैलेख, जाजरकोट र रुकुमपश्चिमका किसानले पनि मल पाउन सकेका छैनन्। मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार सुर्खेत र दैलेखमा मात्रै वार्षिक तीन हजार टन रासायनिक मल आपूर्ति हुन्छ। अघिल्ला वर्षमा जेनतेन आपूर्ति गर्दै आएको कम्पनीको डिपो यसपाली भने रोपाइँको समयमा रित्तै छ। कार्यालय प्रमुख टोपाराम गौतमले यसपाली सुर्खेतका सीमित कृषि सहकारीलाई युरिया, डीएपी र पोटास मल उपलब्ध गराइएको बताए।

‘हिजोआज कम्पनीसँग एककिलो पनि मल छैन’, कार्यालय प्रमुख गौतमले भने, ‘सुर्खेतमा मल आइपुग्न अझै केही हप्ता लाग्छ।’ मागअनुसार आपूर्ति हुन नसक्दा हरेक वर्ष मल अभाव भोग्नुपरेको उनको भनाइ छ। ‘सुर्खेत र दैलेखलाई मात्रै वार्षिक तीन हजार टन मल आवश्यक पर्छ, तर मागअनुसार कहिले आपूर्ति भएन’, उनले भने, ‘कोरोना महामारीका कारण समस्या भएकाले यसपाली माग अनुसार मल आपूर्ति गर्न सकिँदैन।’ यसपाली अर्गानिक मल उत्पादनमा पहल नगरे मल अभावकै कारण उत्पादन पनि घट्न सक्ने उनको भनाइ छ।

यसैबीच सरकारले दिने अनुदानको मलमा विचौलियाले रजाइँ गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन तथा चेकजाँचमा कडाइ गरेको छ। किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल यसअघि वीरेन्द्रनगरका बजारमा भेटिएको थियो। व्यवसायीले अनुदानको मल किसानलाई महँगोमा बिक्री गरेको पाइएपछि प्रशासनले निगरानी बढाएको हो। कर्णालीका केही जिल्लामा भने कहिल्यै मलको अभाव हुँदैन। प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायले प्रदेशका जाजरकोट, कालिकोट, मुगु, हुम्ला र डोल्पामा कहिल्यै मलको अभाव हुँदैन। ती जिल्लामा अर्गानिक मल मात्रै प्रयोग हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.