दृष्टिविहीनका पीडा

दृष्टिविहीनका पीडा

ललितपुर : सुनिता नेपाली (२१) र उनका श्रीमान् चक्र नेपाली दुवै दृष्टिविहीन हुन्। आठ महिनाकी गर्भवती सुनिता जारको पानी किन्ने पैसासमेत नहुँदा ट्युबेलको पानीले तिर्खा मेटाउन परेकामा चिन्तित छन्। मध्यपुर ठिमी— २ मगरगाउँमा भाडामा बस्दै आएकी उनीहरूको स्थायी ठेगाना धनगढी हो। एक वर्षदेखि अगरबत्ती बेचेर गुजारा गर्दै आएका उनीहरूले लकडाउनका कारण चरम आर्थिक संकट झेल्नु परेको बताए ‘जारको पानी किन्ने पैसासमेत छैन फलफूल र माछामासु सम्झेर बसेको धेरै भयो।’

उनीहरूका साथमा साढे सात हजार रुपैयाँ र पाँच हजार पर्ने मोबाइल नभएको होइन। लकडाउन सुरु हुनेबित्तिकै मोबाइल चोरी भयो। सुनिताले भनिन् ‘रोजगारी खोसियो, यही बेला चोरी भयो’ उनको स्वास्थ्यजाँचका लागि एउटा संस्थाले सहयोग गरेको छ। निरन्तर परीक्षण चलेको र औषधिका लागि भने समस्या नभएको उनले बताइन्। तर, दैनिक जीवनमा झेल्दै आएको समस्या दिनानुदिन बढ्दै गएकोमा उनी दुःखी छिन।

गत चैत्रमा वडा कार्यालयले १० केजी चामल, नुन, तेललगायत खाद्यान्न सहयोग गरेको थियो। त्यसपछि दोस्रो चरणमा पनि राहत दिने भनिए पनि सहयोग नपाएको उनले गुनासो गरिन्। नजिकैको पसलबाट उधारो सामान ल्याउने गरेको भए पनि कसरी पैसा तिर्ने भन्नेमा उनी चिन्तित छन्। आफूसँग जे छ त्यसैमा चित्त बुझाउँदै आएको सुनाइन्। आठ हजार रुपैयाँमा दुई कोठा भाडामा लिएका उनीहरूले चैत्रदेखिको भाडा तिर्न नसकेको र भाडा मिनाहा भइदिए हुन्थ्यो भन्ने मनसाय रहेको सुनाए।

सुनिताकै नजिक बस्दै आएकी जुम्लाकी दृष्टिविहीन अमृता थापाको पनि समस्या उस्तै छ। ग्रामीण विकास र अंग्रेजी विषयमा डिग्री हासिल गरेकी थापालाई लकडाउनका कारण काम नहुनु, गाउँघर फर्कन नपाउनु, राहतसमेत नपाउनुले जस्ता समस्याले दिनदिनै तनाव बढ्दै गएको उनले बताइन्। घरबेटीले भाडा मागेर दिक्क पारेको सुनाउँदै भनिन्, ‘लकडाउनले दृष्टिविहीनहरूलाई मर्नु न बाँच्नु बनाएको छ। घरबेटीले निकाल्यो भने कहाँ जाने ? ’ उनले चैत्र महिनाको मात्रै भाडा बुझाउन सकेकी छन्। यसरी समस्यामा परेकाहरूलाई भाडा मिनाहाको व्यवस्था भए हुन्थ्यो जस्तो लागेको उनले बताइन्। सम्बन्धित ठाउँका जनप्रतिनिधिसँग भाडाका लागि पहल गरिदिन आग्रह गर्दा उनीहरूले आफ्नो हातको कुरा नभएको भन्दै अनुत्तरदायी प्रतिक्रिया दिएको गुनासो गरिन्। आफू जस्ता दृष्टिविहीनहरूको योग्यताअनुसार सरकारले रोजगारीको व्यवस्था गर्नु पर्नेमा उनको जोडदार माग छ। सरकारले माग्ने बनाएकोमा अपसोच लागेको सुनाउँदै भनिन् ‘क्षमताअनुसारको काम मिलाइदिए हुन्थ्यो।’

ललितपुरको एकान्तकुनामा बस्दै आएका अर्का दृष्टिविहीन दम्पती वसन्ती काफ्ले र छवि कामीको समस्या पनि उस्तै छ। अन्तरजातीय विवाहबन्धनमा बाँधिएकै कारण उनीहरू गाउँ फर्किन सकेनन्। छवि काम नभए पनि वसन्ती अगरबत्ति बेचेर गुजारा गर्थिन्। तर कोरोना महामारीपछि उनको काम पूर्णरूपमा बन्द भयो। स्नातक अध्ययन गर्दै गरेकी वसन्तीलाई कुनै पनि काम पाए गर्न सक्छु भन्ने लागेको छ। ‘आँखाले काम नगरे पनि दिमाग र हात, खुट्टा चलाउन सकिन्छ नि।’ वसन्तीले भनिन्।

आर्थिक समस्याले गिजोलेका अबका दिन कसरी कटाउने भन्ने चिन्ता रहेको सुनाइन्। लकडाउनको समयमा रेडियोकर्मीले खाद्यान्न र ग्यास किनिदिएको उनले सुनाइन्। वडा र प्रहरीबाट पाएको राहत पाएको पनि सकिन लागेकोले चिन्ता बढ्न थालेको उनले सुनाइनु्। यस्तो असहज परिस्थितिमा घर परिवारको सँगै हुन पाए हुन्थ्यो भन्ने लागेको सुनाउँदै भनिन् ‘सरकारको आँखामा दृष्टिविहीन पर्न सकेका छैनन् यतिबेला जस्तो आर्थिक संकट कहिल्यै झेल्नु परेको थिएन।’

नेपाली, थापा र वसन्ती सबैले सहयोगका लागि सरकारसँग आग्रह गरेका छन। स्थानीय सरकार तथा केन्द्रीय सरकारलाई उनीहरूले एकै स्वरमा भने, ‘सरकार ! हामी चरम समस्यामा छौं, केही त गरिदेऊ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.