ब्राजिलको स्वास्थ्य मन्त्रालयले गुमायो विश्वास
एएफपी/ब्राजिल : ब्राजिलमा कोभिड संक्रमित र मृत्यु हुनेको संख्या अत्यधिक बढ्दो छ। विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यासअनुसार देशमा बन्दाबन्दीको तयारी भइरहेको थियो। त्यही समय आफूलाई पदबाट हटाइएको आरोप त्यहाँका पूर्वस्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले लगाए।
चिकित्सकसमेत रहेका ५५ वर्षीय स्वास्थ्यमन्त्रीसँग विवाद बढेपछि राष्ट्रपति जाइर बोल्सोनारोले गत अप्रिलमा उनलाई पदबाट हटाएका थिए। राष्ट्रपतिको यो कदमलाई तत्कालीन स्वास्थ्यमन्त्रीले भाइरससँगको लडाइँमा राष्ट्रपतिको प्रतिक्रियालाई अनियन्त्रित उत्तेजनाको संज्ञा दिएका थिए। अहिलेसम्म ब्राजिल कोभिड–१९ का कारण विश्वको दोस्रो धेरै संक्रमित र मृत्यु हुने मुलुक बनेको छ। शनिबार मध्याह्नसम्ममा ब्राजिललाई उछिन्दै अमेरिकामा सबैभन्दा बढी २२ लाख ९७ हजार संक्रमित र एक लाख २१ हजार एक सय सात जनाको मृत्यु भएको छ।
राष्ट्रपति बोल्सोनारोले म्यानडेटालाई हटाएपछि अर्का एक चिकित्सकलाई जिम्मेवारी दिएका थिए। तर उनले पनि एक महिनामै पदबाट राजीनामा दिएका थिए। त्यसपछि स्वास्थ्य क्षेत्रको अनुभव नभएका सैनिक जनरल एड्वार्डो पाजुएलोलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरिएको थियो।
स्वास्थ्यमन्त्रीका रूपमा ख्यातिप्राप्त म्यानडेटाले एएफपीसँगको अन्तर्वार्तामा भने, ‘पाजुएलोको स्वास्थ्य क्षेत्रको ज्ञान नहुँदा उनले विभिन्न २० सैनिकलाई स्वास्थ्य क्षेत्रका उच्च पदमा नियुक्त गरी आफ्नो उपस्थितिलाई बलियो बनाउने कोसिस गरे पनि उनी र उनले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयप्रति जनताको विश्वास गुमेको छ।’
जसरी चिकित्सकहरूलाई युद्धको जानकारी हुँदैन, त्यसैगरी सैनिक जनरलमा स्वास्थ्य क्षेत्रको यथेष्ट ज्ञान नहुनुलाई स्वाभाविक मान्दै उनले भने, ‘तर इतिहास नै यसबारे न्यायाधीश बन्नेछ। कोरोना भाइरस संक्रमित बिरामीले वास्तविक कथा बताउनेछन्, यदि उनीहरूका भनाइलाई जस्ताको तस्तै प्रकाशित गरियो भने।’
पद्धतिलाई परिवर्तन गर्दा जनताको विश्वास टुट्ने बताउँदै उनले थपे, ‘अन्तिममा तपाईंले जुन कुरा गर्न चाहे पनि त्यति बेलासम्म मन्त्रालयको विश्वसनीयता गुमिसक्छ। किनभने विश्वसनीयताले नै तपाईंलाई अख्तियार दिन्छ। तर दुर्भाग्यको कुरा; सरकारी अधिकारीले तथ्यांक, पारदर्शिता नदेखाउँदा उनीहरूले विश्वसनीयता गुमाएका छन्।
ब्राजिलका बिरामीका लागि हाइड्रोक्लोरोक्विनको प्रयोग गलत भएको दाबी गर्दै उनले भने, ‘हाइड्रोक्लोरोक्विनका प्रयोग वैज्ञानिक आधार पुष्टि भएपछि मात्रै गरौं भन्ने आफ्नो तर्क सैनिक पृष्ठभूमिबाट आएका राष्ट्रपति र स्वास्थ्यमन्त्रीका कारण असम्भव भयो। अहिले यसको प्रयोगबाट समस्या हुने देखिएपछि रोक्ने निर्णय गर्नुभन्दा पहिल्यै सावधानी अपनाउनु राम्रो हुने थियो।’ उनीहरूले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य विज्ञानको सट्टा राजनीतिशास्त्र र सैन्यशास्त्र प्रयोग गर्दा मन्त्रालयप्रतिको विश्वास गुमेको पनि उनले प्रस्ट्याए।
ब्राजिलले बन्दाबन्दीलाई महामारी नियन्त्रणको उपायका रूपमा लिन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘यो सैनिकले अड्डा जमाएको मन्त्रालय भएको छ। दुर्भाग्यको कुरा, स्वास्थ्य मन्त्रालय स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा चुकेको छ। अब ढिलो भयो। देशमा आर्थिक तथा स्थानीय निर्वाचनको दबाब बढेको छ। अब बन्दाबन्दी गर्न कठिन छ। यो उपाय सुरुमै गर्न सकेको भए यति ठूलो स्वास्थ्य संकट निम्तिने थिएन कि।’
ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या ५४ हजार सात सय ७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार ६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !