चीन-भारत तनावको चुनौती विश्लेषण गर्दै नेपाली सेना

चीन-भारत तनावको चुनौती विश्लेषण गर्दै नेपाली सेना

काठमाडौं : चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो ।

चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त, त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे छलफल भएको हो । दुई छिमेकी मुलुकका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा बढेको तनाव, त्यसले नेपाललाई पार्न सक्ने सुरक्षा प्रभावबारे खुलेरै छलफल भएको सैनिक स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाली वार्ताका माध्यमबाट जारी तनावको समाधान गर्न चीन र भारतलाई आग्रह गरिसकेको छ । नेपालले दुवै छिमेकीलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको हो । जंगीअड्डामा भएको पृतनापति बैठकमा पनि चीन–भारत सीमा समस्या र त्यसले नेपाललाई पार्न सक्ने सम्भावित असरको विषयले प्रवेश पाएको हो । बाह्य गतिविधिले नेपालको आन्तरिक सुरक्षामा उत्पन्न गराउन सक्ने चुनौतीबारे बैठकमा छलफल चलेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले चीन र भारतबीच बढेको तनावले नेपालमा के कस्तो सुरक्षा चुनौती बढ्न सक्छ ? त्यसको सूक्ष्म विश्लेषण गर्नुपर्ने धारणा राखे । त्यसबाट नेपाललाई पर्न सक्ने असर, त्यसले उत्पन्न गराउन सक्ने चुनौती विश्लेषण गरी सोहीबमोजिम रणनीति र कार्ययोजना तयार पार्न उनले सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

‘प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थितिबारे स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना निर्माण गर्न निर्देशन दिनुभयो’, जंगीअड्डाले बैठकपछि आइतबारै जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रधानसेनापति थापाले मुलुकको स्वतन्त्रता र अखण्डता जोगाउनका लागि आफ्नो संवैधानिक दायित्व पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको स्पष्ट पारे । सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि जंगीअड्डाले औपचारिक रूपमा मुलुकको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना प्रतिबद्ध रहेको अभिव्यक्ति दिएको हो ।

उनले राष्ट्रिय स्वार्थ प्राप्तिका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न मातहतलाई निर्देशन दिए । नेपालले नयाँ नक्सा जारी गरेपछि गत साता प्रधानसेनापति थापा नेपाल–भारत सीमा क्षेत्र अवलोकन गर्न गएका थिए । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिमा अविचलित भएर लाग्न मातहतलाई निर्देशन दिएका छन् ।

पृतनापति बैठकले कोरोना भाइरस संक्रमणका कारण विदेशबाट फर्किएकाहरूलाई सरकारले सही व्यवस्थापन गर्न सकेन भने उनीहरू भड्किन सक्नेतर्फ सचेत गराएको छ । गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाए पनि नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता सक्रिय रहेको निष्कर्ष सेनाले निकालेको छ । विदेशबाट फर्किएकाहरूलाई व्यवस्थापन गर्न नसकिए उक्त समूहले प्रयोग गर्न सक्नेबारे सैनिक अधिकारीहरूबीच छलफल भएको छ ।

विभिन्न अभियोगमा विदेशमा जेल बसेका र आममाफी पाएर फर्किएका युवालाई व्यवस्थापन नगरे विप्लव समूहले उपयोग गर्न सक्ने, त्यसले आन्तरिक सुरक्षामा चुनौती बढाउने एक सैनिक अधिकारीले बताए । उनीहरूका गतिविधि निगरानी गर्नुपर्नेमा उच्च सैनिक अधिकारी एकमत देखिएका छन् । विदेशबाट फर्किएका युवालाई व्यवस्थापन गर्न सरकारले तत्काल कार्ययोजना बनाउनुपर्नेमा अधिकांश सैनिक अधिकारीले जोड दिएका थिए ।

पृतनापति बैठक शुक्रबार सुरु भएको थियो । बैठकमा पीएसओज, रथीवृन्द, पृतनापतिहरू, जंगीअड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखलगायत उपत्यकाका बाहिनीपति सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.