संगीत दिवसमा प्रधानमन्त्रीको गीत

संगीत दिवसमा प्रधानमन्त्रीको गीत

काठमाडौं : गएको वर्ष नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभागबाट कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिन विश्व संगीत दिवस भव्यताका साथ मनाइएको थियो। तर यो वर्ष कोरोना महामारीका कारण लकडाउनले नेपालमा मात्र होइन, कुनै पनि देशमा संगीत दिवस मनाउने माहोल रहेन।

हरेक वर्ष जुन २१ मा विश्वभर संगीत दिवस मनाइन्छ। परम्परागत तथा शास्त्रीय संगीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘लकडाउनले यसबीचमा संगीतमात्रै होइन, कुनै पनि दिवस मनाउन सम्भव भएन। तर लकडाउनको बीचमा नेपाली संगीतमा पनि नयाँनयाँ प्रयोग हुनु खुसीको कुरा हो।’ उनका अनुसार मुखैले बाजा बजाएर एकापेला गीतको रिलिजदेखि विभिन्न कविले संगीतको पृष्ठभूमिमा सामाजिक सञ्जालमा कवितावाचन गरेर संगीत र कविताको उचाइ बढाए। कोरोनालगायत अन्य महामारीमा सचेत हुनुपर्ने जागरण गीत यस बीचमा आए।

मान्छे खुसीमा मात्र होइन, दुःखमा पनि संगीत सुन्न रुचाउँछ। नेपालका विभिन्न जातजातिमा बिहेभोजमा मात्रै होइन, मृत्युमा पनि संगीत बज्छ। यसरी साथीभाइको जमघट होस् या एक्लोपन संगीत जुनै अवस्था र परिस्थितिमा पनि साथ रहन्छ।

विडम्बना यस वर्ष विश्व संगीत दिवसका दिन सुनसान रह्यो। जबकि गएको वर्ष ‘म्युजिक इज एट इन्टरसेक्सन’ को नारा दिएर संसारभरका एक सय २० देशका सात सय सहरमा विश्व संगीत दिवस मनाइएको थियो।

म त संगीतको पसल थाप्ने मान्छे। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गीत गाइदिनुप¥यो भनेर दिए भने शब्द मन परे गाउन तयार छु। गायक शिशिर योगी

अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा सर्वप्रथम यस दिनलाई विश्व संगीत दिवसका रूपमा अघि सारेका थिए। उनको विचारमा सहमत भएर फ्रान्सेली राजनीतिज्ञ ज्याक ल्याङ र संगीतकार एवम् नृत्य निर्देशक मोरिस फ्लेरेटको अगुवाइमा सन् १९८२ देखि जुन २१ को दिनलाई विश्व संगीत दिवसका रूपमा मनाउन थालिएको हो। नेपालमा भने २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो। तर संगीतमै लाग्ने केहीलाई यो दिवसको हेक्का छैन।

गायक तथा संगीतकार शिशिर योगीलाई संगीत दिवसबारे सम्झना गराउँदा उनले ‘ए आज संगीत दिवस हो र ? ’ भन्दै उल्टै प्रश्न सोधे। उनले भने,‘यो कोरोनाले सबै चिज बिर्सिने बनाइदियो।’ तर उनले अघिल्ला वर्षहरूमा संगीत दिवसमा सहभागी भएको सम्झना गरे।

गायक योगी लकडाउनमा संगीतमा अझ बढी रियाज गर्न पाएकोमा प्रफुल्लित छन्। उनी भन्छन्, ‘लकडाउन नभएको भए, कुदाकुद हुन्थ्यो। अहिले संगीतमा निकै समय दिन पाइयो। ९÷१० वटा नयाँ गीतसंगीतमा काम गरियो।’ यस बीचमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म त भाग्यमानी’ बोलको गीतमा स्वर र संगीत पनि दिन भ्याए। ‘प्रधानमन्त्री ओली आफैंले फोन गरेर वैशाख २२ गते काम दिएका थिए। गीतको काम सकाएर निकै पहिले पठाइदिएको थिएँ। यसै शनिबार गीत सुनेको खबर आयो’, योगीले जानकारी दिए। यसरी प्रम ओलीले संगीत दिवसको अघिल्लो साँझ आफ्नै शब्द रचनामा गीत सुनेर बिताए।

गायक योगी आफूले मन नखाने शब्दमा सकेसम्म स्वर दिँदैनन्। के प्रम ओलीका शब्द साँच्चिकै मन खाने थिए ? योगी रहस्य खोल्छन्, ‘प्रमले मैले कविता लेखेको हुँ। गीत पनि बन्छ कि भनेर हेर्न आग्रह गर्नुभयो। शब्द ठिकै लाग्यो। सुर तान्न नमिल्ने केही शब्द मैले थपथाप गरे। त्यो अधिकार उहाँले मलाई दिनुभएको थियो।’

ओलीको गीत सत्ताको भजन गाए जस्तो भएन र ? भन्ने प्रश्नमा गायक योगी लामो हाँसोसँगै भन्छन्, ‘हेर्नोस्, म त संगीतको पसल थाप्ने मान्छे। पूर्वराजा ज्ञानेन्द्र शाह पनि जी शाहको नामले गीत लेख्छन् क्यारे। उनले पनि गीत गाइदिनु पर्‍यो भनेर दिए भने शब्द मन परे गाउन तयार छु।’ उनले प्रम ओलीको गीतमा स्वर, संगीत दिए बापत कति रकम लिए खुलाउन चाहेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.