दाङमा वडाअध्यक्षसहित १३ जनामा कोरोना संक्रमण
दाङ : दाङमा सोमबार एक स्थानीय तहका वडा अध्यक्षसहित १३ जनामा कोरोना संक्रमण थप भएको छ । दाङमा यसअघि पनि बंगलाचुली गाउँपालिकाका एक वडाअध्यक्षलाई कोरोना संक्रमण भएको थियो । सोमबार घोराही उपमहानगरपालिकाका एक वडाअध्यक्षसहित १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा २ का तीन जना, घोराही ३ का २ जना, घोराही ६ का एक जना १९ वर्षीय महिलासहित ७ जना र घोराही पाँचका १ जनाका कोरोना पुष्टि भएको छ । उनीहरुको उमेर १६ वर्षदेखि ३८ वर्षसम्मको रहेको छ । सोमबार एकै दिन घोराही उपमहानगरपालिका मा १३ जना कोरोना संक्रमित थप भएका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि संकलन भएका तीन हजार ४ सय स्वाब परीक्षण प्रक्रियामा रहेको प्रतिष्ठानले बताएको छ । दाङमा संक्रमितको सख्या २ सय ८० पुगेको छ भने ९४ जना डिस्चार्ज भएका छन्।