रुकुमपश्चिम घटना : वादी र जाहेरीवाला वकिलको बहस सकियो
रुकुमपश्चिम : सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ। शुक्रबारदेखि शुरु भएको बहस सोमबार पनि जारी रह्यो। थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ।
सोमबार बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए। उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन्। पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र सोमबार जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन्।
मङ्गलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताए। प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन्। प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ। मङ्गलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ।
गत जेठ १० गते रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एकको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ।
प्रतिक्रिया दिनुहोस !