बागलुङमा एकै दिन ११ जनाले जिते कोरोना
बागलुङ : जिल्लामा एकै दिन ११ जनाले कोरोना जितेर घर फर्केका छन्। कोरोना संक्रमितको उपचार धौलागिरी बुहुमखी क्याम्पसको आइसोलेसनमा रहेका बडिगाड गाउँपालिकाका ५ जना र बरेङ गाउँपालिकाका २ जना, धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ताराखोला गाउँपालिकाको १, गलकोट नगरपालिकाको १ र निसीखोला गाउँपालिकाको २ जनाले कोरोना जितेका हुन्।
धौलागिरी क्याम्पसको प्रि आइसोलेसनमा रहेका ७ जना र धौलागिरी अञ्चल अस्पतालमा रहेको ४ जना गरी ११ जना संक्रमितको सोमबार प्राप्त दोस्रो रिपोर्ट नेगेटिभ आएका कारण मंगलबार सम्बन्धित पालिकाको समन्वयमा घर पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङका सूचना अधिकारी तिर्थ गौतमले बताए।
अस्पताल र आइसोलेसनबाट डिस्चार्ज गरी पठाइएका सबैलाई दुई हप्ता होम आइसोलेसनमा बस्न आग्रह गरिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए। कोरोना जितेकाहरु मंगलबार विहान सम्बन्धित गाउँपालिकाको पहल र समन्वयमा एम्बुलेन्स मार्फत घर तर्फ लागेका छन्।
योसँगै बागलुङमा कोरोना जितेर घर फर्कनेको संख्या २३ पुगेको छ। जिल्लामा संक्रमितको संख्या भने १ सय २५ पुगेको छ। संक्रमितको संख्या उल्लेख्य बढे पछि अब संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या र अन्यौलता देखिएको छ। धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रिआइसोलेसन तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन भरिएका छन्। अब बैकल्पिक आइसोलेसन बारे छलफल भइरहेको जिल्ला कमाण्ड पोस्टका संयोजक प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले बताए।