नागरिकता विधेयकविरुद्ध कपिलवस्तुमा प्रदर्शन
कपिलवस्तु : सरकारले अघि सारेको नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा प्रदर्शन गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले नागरिकता सम्बन्धी ऐन २०६३ लाई नै कायम गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
जनता समाजवादी पार्टीको तौलिहवास्थित कार्यालयबाट निस्केका जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले सरकारले ल्याउन लागेको नागरिकता विधेयकविरुद्धमा नाराबाजी गर्दै मंगलबार तौलिहवा बजार परिक्रमा गरेका थिए ।
विरोध प्रदर्शनमा उत्रिएका सजपा नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडीको कोण सभा सम्पन्न गरेका छन् । सरकाले ल्याउन लागेको नागरिकता विधेयकमा रहेका प्रावधान आफूहरुलाई कुनै हालतमा पनि मान्य नहुने भन्दै त्यसविरुद्धमा जनता समाजवादी पार्टी बाध्य भई आन्दोलित हुने नेताहरुले बताएका छन् ।
नेपाल- भारतबीच सदियौंदेखि आपसी पारस्परिक भाइ-चाराको सम्बन्धलाई आउँदै गरेको नागरिकता विधेयकले खलल पार्ने नेताहरुले बताएका छन् । तराई मधेशका नेपाली जनता र भारतीय जनताबीचको सम्बन्ध कुनै पनि राजनैतिक दलले निर्माण गरेको नभइ यो जनस्तरको सम्बन्ध भएका कारण यसको विरुद्धमा नागरिकता विधेयक रहेको आन्दोलनरत नेताहरुले बताएका छन् ।
विरोध प्रर्दशनमा जसपाका नेताहरु रविदत्त मिश्रा, नारायण खनाल, कैलाश अग्रहरी, शैलेन्द्र यादव, अब्दुल रसिद खां, सन्दिप पाण्डेयलगायतको उपस्थिति रहेको थियो।