सप्तरीमा थप एक प्रहरीसहित २१ जनामा कोरोना संक्रमण : क्वारेन्टाइनबाट भागे दुई संक्रमित
राजविराज : सप्तरीमा एक प्रहरीसहित २१ जना कोरोना संक्रमित मङ्गलबार थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाका १६, हनुमाननगर कंकालिनी नगरपालिकाका ३ र सप्तकोशी नगरपालिकाका २ जना संक्रमित थप भएका हुन्।
हनुमाननगर कंकालिनी नगरपालिका-१२ स्थित लिल्जा ठाकुर आधारभूत विद्यालयमा खटिएका ३२ वर्षीय प्रहरी तथा भारतबाट आएका वडा नम्बर १२ का १९ वर्षीय पुरुष तथा वडा नम्बर १ स्थित बीपी मावि भारदहको क्वारेन्टाइनमा रहेका २२ वर्षीय पुरुष थप भएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताए।
वडा नम्बर १२ का १९ वर्षीय पुरुष र उनका दाजु दुबैको आरडीटी पोजिटिभ आएपछि स्वाब परीक्षणका लागि पठाइएकोमा भाइको रिपोर्ट पोजिटभ आएको र दाजुको रिपोर्ट नेगेटिभ आएको यादवले जानकारी दिए।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकामा मङ्गलबार १ महिलासहित १६ जना संक्रमित थप भएका छन्। वडा नम्बर १ का १८ वर्षीय चार, २६, २७, २९, ३४, ३६, ३८, ४०, ४४, ५६ वर्षीय पुरुष, वडा नम्बर २ का ११ र १७ वर्षीय बालक तथा वडा नम्बर ४ की २८ वर्षीया महिलामा संक्रमण देखिएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए।
वडा नम्बर ४ की संक्रमित महिला वडा नम्बर ७ स्थित लक्ष्मी बल्लभ नरसिंह मावि वभनगामा कट्टीको क्वारेन्टाइनमा र अरु १५ जना संक्रमित वडा नम्बर २ स्थित लौनियाको क्वारेन्टाइनमा बसेका थिए। वडा नम्बर २ स्थित लौनियाको क्वारेन्टाइनबाट सोमबार फरार भएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार साँझ क्वारेन्टाइनमा फर्काएको थियो।
घरपरिवारमा भागेर गएका दुई जना व्यक्तिमा कोरोना पोजिटिभ फेला परेपछि वडा नम्बर १ मा बुधबारदेखि सिल गर्नेबारे गाउँपालिकामा अहिले छलफल भइरहेको झाले बताए। प्रहरीबाहेक सबै जना भारतको विभिन्न राज्यबाट आएर आ-आफ्नो स्थानीय तहको क्वारेन्टाइनमा बसेका थिए।
यसअघि सप्तरीमा सोमबार राति सप्तकोशी नगरपालिका १ का ४३ वर्षीय र वडा नम्बर ३ का २२ वर्षीय पुरुषमासंक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। सप्तकोशी नगरपालिकामा संक्रमण देखिएपछि सप्तरीको १८ मध्ये १६ स्थानीय तहमा संक्रमण फैलिएको छ।
योसँगै सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ९४ पुगेको छ। सबै संक्रमितलाई राति अबेलासम्ममा राजविराज-२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा ल्याइने जनाइएको छ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म हनुमाननगर कंकालिनी नगरपालिकामा १ महिलासहित ३८, बोदे बर्साइन नगरपालिकामा २ महिलासहित ३२ जना, बलान बिहुल गाउँपालिकामा ४ महिलासहित ३१ जना, राजगढ गाउँपालिकामा १८ पुरुष, तिलाठी कोइलाठी गाउँपालिकामा १ महिलासहित १७ जना, छिन्नमस्ता गाउँपालिकामा २ महिलासहित १६, राजविराज नगरपालिकामा २ महिलासहित १५ र डाकनेश्वरी नगरपालिकामा १ महिलासहित १२ जना, खडक, सुरुङ्गा र कञ्चनरुप नगरपालिकाका ३/३, सप्तकोशी नगरपालिकामा २, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ।
यसैगरी हालसम्म कोरोनालाई जितेर तीन वर्षीया बालिकासहित ९० जना घर फर्किएका छन्।