आफ्ना क्षेत्र सिल गर्दै स्थानीय तह
बैतडी : बैतडीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहहरुले आफ्ना क्षेत्रलाई सिल गर्न थालेका छन् । मानिसको आवतजावतमा रोक लगाइ कोरोनाको जोखिम न्यूनीकरणका लागि आफ्ना क्षेत्र सिल गरेको स्थानीय तहहरुले जनाएका छन् ।
‘बिरामीको संख्या लगातर बढ्दै गएको छ । लकडाउन खुकुलो भएपछि भीडभाड बढ्न थाल्यो । त्यसैले हामीले बुधबारदेखि एक हप्तासम्म नगरपालिका क्षेत्र सिल गरेका छौं’, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने,‘अत्यावश्यक बाहेक सवारी साधन पूर्ण रुपमा रोक लगाएका छौं । बैंक तथा बित्तीय संस्था पनि हप्तामा तीन दिन मात्रै सञ्चालन गर्न भनेका छौं ।’
दशरथचन्द नगरपालिकामा मात्रै २९ जनामा कोरोना संक्रमण देखिएको छ । नगरपालिका क्षेत्रका नागरिकमा कोरोना संक्रमण देखिएपछि संक्रमण नफैलियोस भन्नका लागि नगरपालिका क्षेत्र सिल गरिएको नगरपालिकाले जनाएको छ । यस्तै जिल्लाको पाटन नगरपालिकाले पनि असार ८ गतेदेखि १५ गतेसम्म नगरभित्रका सबै बजारहरु सिल गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बजार क्षेत्र सिल गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताए । उनले भने, ‘बजार खुला हुँदा क्वारेन्टाइनमा बसेका मानिस पनि निर्धक्क बजारमा घुमेको पाइयो । त्यसैले हामीले १५ गतेसम्मका लागि बजार क्षेत्र सिल गरेका हौं ।’
पाटन नगरपालिकाले पाटन बजार, मानिकाखान, खोड्पे लगायतका बजार सिल गरेको छ । पाटनका ८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सिगास गाउँपालिकाका पनि केही वडा सिल गरिएका छन् । क्वारेन्टाइनमा बसी आरडीटी पोजीटिभ आएका केही नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि वडाहरु सिल गरिएका हुन् । बैतडीमा अहिलेसम्म १७२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।