चट्याङले लागेर मृत्यु हुनेमा शिक्षक र खरदार पनि थिए (अपडेट)
राजविराज : वर्षासँगै परेको चट्याङ्ले बिहीबार शिक्षक र खरिदारसहित चारजनाको मृत्यु भएको छ ।धान रोप्ने खेतमा काम गर्न निक्लिएका राजगढ गाउँपालिका-४ बेल्हीका ४५ वर्षीय केशीलाल साहको चट्याङले लागेर मृत्यु भएको उनका छोरा ओमप्रकाश मण्डलले बताए ।
उनी उदयपुरको रानीबास खाँबुस्थित जनता माविका शिक्षक हुन् । लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका साह धान रोप्ने खेत तयार गर्न निक्लिएका थिए । यसैगरी बुवाआमा र साथीसँगै कोशी नदी गएका महादेवा गाउँपालिका-२ का २८ वर्षीय बेचन यादवको चट्याङ लागेर मृत्यु भएको उनीसँगै गएका उनका साथी सोही ठाउँका दिपक यादवले बताए ।
घरमा गोसाई गाड्ने पूजाकर्मका लागि बुवा देवनारायण यादव, आमा जुगोदेबी यादव, कपाल काटने हजाम नकछेदी ठाकुर र दिपक सँगै बेचन बिहान मोटरसाइकलमा कोशी नदी गएका थिए । घाइते दिपकका अनुसार देवनारायण यादवको कपाल काटेपछि पानी पर्न थाल्दा सबैजना त्यहीं नजिक बनेको एउटा छाप्रोमा गएर ओत लिइरहेका बेला अचानक बिजुली चम्क्यो र चट्याङ पर्यो ।
'सबैजना बेहोस भएका थियौं, तीनजना ब्युझिदा बेचन र हजाम ५५ वर्षीय नकछेदीको मृत्यु भइसकेको थियो,' अस्पतालमा उपचाररत दिपकले भने । महादेवा गाउँपालिकाका खरिदार बेचनकी एक छोरी छिन् ।
यस्तै खेतमा काम गरिरहेका बेला डाकनेश्वरी नगरपालिका ९ की ३० वर्षीया ललीतादेबी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए । चट्याङले लागेर राजगढ गाउँपालिका-४ की २१ वर्षीया आशाकुमारी मण्डल घाइते भएकी छिन् । दिदीबहिनीसँगै घरमा बसेर कुराकानी गरिरहेका बेला भित्तामा अडेस लागेर बसेकी मण्डल घाइते भएको उनले बताइन् ।
घाइते मण्डल र दिपक यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य बन्दै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए ।
चट्याङ्ले मृत्यु भएका शिक्षक राजगढ गाउँपालिका-३ का केशीलाल साहको शवसँगै उनका शोकसन्तप्त परिवार । तस्बिर : मनोहर पोखरेल