मकै जोनमा किराको हमला

मकै जोनमा किराको हमला

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका ८ का उत्तम बोहराले तेस्रो पटक छरेका मकै भर्खर टुसाउन थालेका छन्। अहिले किसानले दोस्रो पटक मकै गोडिसक्ने बेला हो। फेदकटुवा किराले दुई पटक लगाएको मकै खाई दिएपछि बाँझो भएका खेतमा बोहराले तेस्रो पटक मकै छरेको बताए।

‘जेठ पहिलो साता पहिलो पटक मकै छरे, किराले खुसाएको बोट खाइदियो, फेरि १५ दिनपछि मकै छरे त्यो पनि फेदकटुवा किराले सखाप पार्‍यो, अहिले तेस्रो पटक मकै छरिरहेको छु’, बोहराले भने। उनले तेस्रोपटक छरेको मकै पनि अलि अलि मात्रै उम्रिएको छ।

बोहरा लकडाउनका बीचमा भारतको पिथौरागढबाट घर फर्किएका हुन्। क्वारेन्टाइनमा बसेका बेला आफन्तले छरिदिएका मकै किराले खाएको र त्यसपछि दुईपटक आफैले छरेको उनले बताए। ‘यसै वर्ष कोरोनाको महामागरीले खाद्यान्न पनि महँगो भएको छ, त्यसमै बारीको मकै पनि फेदकटुलोले सखाप पारिदिएपछि के खाने भन्ने पिर लागेको छ’, उनले भने।

भारतमा मजदुरी गर्न जाने बाटो पनि भन्द भएको र घरको अन्न उत्पादनमा पनि कमी आउने भएपछि उनी चिन्तित छन्।

जिल्लाको पाटन नगरपालिका ९ कोटगडाका दीपकसिंह महराको मकैबारी पनि रित्तै छ। पहिलो पटक छरेको मकै उम्रिनै लाग्दा फेदकुटवा किराले सखाप पारेपछि उनले बारीमा दोस्रो पटक मकै छरेका छन्। दोस्रो पटक छरेको मकै पनि किराले केही मात्रा नष्ट गरेको छ।

‘हामी लेकाली क्षेत्रका नागरिकको मुख्य खाद्यबाली मकै हो। मकै किराले नष्ट गरेपछि दोस्रोपटक छरेको छु। दोस्रोपटक छरेको मकै पनि आधा जति किराले खाइसक्यो’, महराले भने, ‘७ जनाको परिवार के गरी पाल्ने भन्ने चिन्ता छ।’

पाटन प्रधानमन्त्री कृषि आधनुकिकीकरण परियोजनाअन्तर्गत मकै जोनमा पर्ने स्थानीय तह हो। वडा नम्बर ९ कै जयबहादुर महराको मकैबारीमा पनि भर्खर मकैका बोट उम्रन थालेका छन्। जेठ पहिलो साता छरेको मकै उम्रिनै लाग्दा किराले सखाप पारेपछि उनले पनि दोस्रोपटक मकै छरेका हुन्। ‘घरपरिवारको खर्च चलाउन र वर्षभरी खानका लागि मकै फल्थ्यो। यो वर्ष किराले बारी नै रित्तो पारिदिएको छ’, उनले भने।

किराको प्रकोप देखिए पनि त्यसको नियन्त्रणका लागि कुनै पहल भएको छैन। ‘स्थानीय सरकार आएदेखि कृषिमा खासै कार्यक्रम हुन सकेका छैनन्। बरु साविकको कृषि कार्यालयबाट विभिन्न कार्यक्रम हुन्थे। प्राविधिक सरसल्लाह पाइन्थ्यो’, दशरथचन्द नगरपालिका वडा नं १ का किसान वीरबहादुर टेरले भने, ‘यो वर्ष मकै दोस्रोपटक लगायौं। पहिले लगाएका कतैकतै बाँचेका छन्, त्यसैले कोही बोट ठूला भएका छन् भने कोही खर्चार उम्रिन थालेका छन।’

बैतडीका पाटन नगरपालिका, दशरथचन्द नगरपालिका दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिका मकैका सुपरजोनमा पर्छन्। त्यहीको मकै किराले सखाप पारेको छ। पकेट क्षेत्रमै मकैबालीमा फेदकटुवा किराको प्रकोप देखिएपछि यो वर्ष मकै उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

नगरपालिकाका विभिन्न क्षेत्रमा किसानले लगाएको मकैबाली फेदकटुवा किराले सखाप पारेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए। उनले भने, ‘पाटनका अधिकांश क्षेत्रमा फेदकटुवा किराले सखाप पारेको छ। धेरै ठाउँमा किसानले दोस्रो पटक मकै छरेका छन्।’

जिल्लाको पुर्चौंडी नगरपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका क्षेत्रमा फेदकटुवा किराको प्रकोप बढी देखिएको छ। तर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भने मकै जोनमै किरा नियन्त्रणको कुनै प्रयास गरेको छैन।

जोनका प्रमुख हरिप्रसाद पनेरुले बीउ र कृषि उपकरणमा ५० प्रतिशत अनुदानबाहेक कुनै कार्यक्रम नरहेको बताए। ‘हामीसँग, किरा नियन्त्रणका लागि कुनै बजेट र कार्यक्रम छैन, तर प्राविधिक गुनासो आएको गाउँमा पुगेर प्राविधिक सल्लाह भने दिने गरेका छन्’, जोन प्रमुख पनेरुले भने।

फौैंजी किराको पनि प्रकोप

बैतडीकै डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा फौंजी किराको पनि प्रकोप देखिएको छ। मकै भिœयाएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए। ‘फौंजीकिराले मकैबाली सखाप पारेको छ। मकैका बोट राम्रोसँग हुर्कन नपाउँदै पात र गाबो किराले खाइसकेको छ’, डिलाशैनीका स्थानीय हरिश नाथले भने।

डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरलगायत ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। अहिले गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजी किराको प्रकोप देखिएको उनले बताए। उनले भने, ‘हामीले अनुगमन गर्दा पनि गोकुलेश्वर क्षेत्रमा फौंजीकिराको प्रकोप देखिएको छ। फौंजीकिराको प्रकोप देखिएका ठाउँमा विषादी छर्कन पनि हामीले सुझाव दिएका छौं। तर, किराले धेरैजसो बाली नष्ट गरिसकेको छ।’

जिल्लाको पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा फौंजी किराले मकै सखाप पारेको नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए। उनले भने, ‘हामीले किसानलाई विषादी सिफारिस गरेका छौं। नगरका तर्फबाट अहिले त्यस्तो बजेट छैन। किसानलाई परामर्श दिने काम भने गरिरहेका छौं।’

बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ। जिल्लामा वार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। त्यसमा आधाभन्दा बढी मकैले पूर्ति गर्ने गरेको छ। तर, यो वर्ष भने किराको प्रकोपका कारण मकै उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

उनले भने, ‘हाम्रो जिल्लामा आवश्यक खाद्यान्नमध्ये आधाभन्दा बढी मकैले पूर्ति गर्छ। तर, यो वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ। फेदकटुवा किरा र फौंजी किराले मकै सखाप पारेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.