एक महिनादेखि क्वारेन्टाइनमै

एक महिनादेखि क्वारेन्टाइनमै

बैतडी : पुर्चौंडी नगरपालिका-८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका-८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन्। उनको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दासमेत पीसीआर रिपोर्ट नआएपछि उनी अझै क्वारेन्टाइनमै छन्।

उनीसँगै बसिरहेका ४१ जनाको पनि आरडीटी रिपोर्ट पोजेटिभ आएको छ। तीमध्ये २६ जनाको स्वाब संकलन भएको छ भने अन्यको स्वाब संकलन गर्नै बाँकी छ। समयमै रिपोर्ट नआउँदा स्वाब संकलन गरी पठाइएकाहरू आक्रोशित छन् भने आरडीटी पोजेटिभ देखाएर पनि स्वाब नलिएको भन्दै अरू पनि रिसाउन थालेका छन्।

क्वारेन्टाइनमा बसिरहेकाहरूको रिपोर्ट समयमा नआइदिँदा आफूहरूलाई स्थानीय स्तरमा काम गर्न असहज भएको मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए। उनले भने ‘हामीहरू सामान्य परीक्षण गर्न जाँदा रिपोर्ट कहिले आउँछ भनेर सोध्छन्। हामीसँग त्यसको जवाफ हुँदैन।’

आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरूको स्वाब संकलन गरी पठाएको र समयमा रिपोर्ट नआउँदा उनीहरूलाई त्यत्तिकै घर पठाउनुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। ‘आरडीटी पोजेटिभ आएकालाई समयमै रिपोर्ट नआउँदा घर पठाएका छौं। पीसीआर पोजेटिभ देखिएपछि आइसोलेसनमा राख्ने गरेका छौं।’

पुर्चौंडी नगरपालिका— ८ की तारा विक क्वारेन्टाइनमा बसेको एक महिना पुगेको छ। उनको सानो बच्चामा आरडीटी पोजेटिभ आएपछि उनी पनि क्वारेन्टाइनमै बसेकी हुन्। समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ असहज भएको उनको गुनासो छ। उनले भनिन् ‘स–साना बच्चासहित क्वारेन्टाइनमा बसेका छौं। विद्यालयको छाना चुहिने छ। जेलमा कोचेजस्तै गरी कतिदिनसम्म क्वारेन्टाइनमा राखिन्छ ? ’

एकै क्वारेन्टाइनमा बसेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई घर पठाउन पनि समस्या भएको मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताए। जिल्लाका १० ओटै स्थानीय तहमा १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा छन्। उनीहरूमध्ये धेरैजसो आरडीटी रिपोर्ट पोजेटिभ आएका नागरिक हुन्। उनीहरूको समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइनमै राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

‘स्वाब संकलन गरिएका पाँच सयभन्दा बढीको अझै रिपोर्ट आउन बाँकी रहेकाले उनीहरू क्वारेन्टाइनमै बसेका छन्।’ उनले भने ‘आरडीटी पोजेटिभ आएकामध्ये धेरैजसोको स्वाब संकलन पनि बाँकी रहेको छ। भीटीएमको अभावमा स्वाब संकलन गर्न सकिएको छैन। यसले क्वारेन्टाइन व्यवस्थापनमा निकै चुनौती थपिएको छ।’

क्वारेन्टाइनबाट घर पठाएकाहरूमा संक्रमण पुष्टि

दोगडाकेदार गाउँपालिकाले केही दिन अघि मात्रै क्वारेन्टाइनबाट घर पठाएका २९ जनामा संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि उनीहरूलाई घरबाट खोजेर आइसोलेसनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।

उनले भने ‘महिना दिनसम्म स्वाबको रिपोर्ट आएन। क्वारेन्टाइनमा बसेकाहरू आक्रोशित भएपछि बाध्य भएर घर पठायौं। घर पठाएपछि स्वाबको रिपोर्ट पोजेटिभ आयो। पोजेटिभ रिपोर्ट आएकाहरूलाई फेरि खोजेर आइसोलेसनमा राखेका छौं।’

शिवनाथ गाउँपालिकामा सबैभन्दा बढी संक्रमित छन्। उक्त गाउँपालिकाका ४८ जनामा संक्रमण पुष्टि भइसकेको छ। क्वारेन्टाइनमा बसेको महिना दिन भएपछि धेरैजसोलाई घर पठाइएको थियो।

रिपोर्ट ढिलो आएपछि संक्रमितहरू अहिले होम आइसोलेसनमै बसिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। सुदूरपश्चिममा धनगढीमा मात्रै स्वाब नमुना जाँच गर्ने प्रयोगशाला छ। त्यसको दैनिक क्षमता दुुई सय ५० मात्रै हो। ‘६ हजारभन्दा बढी स्वाब काठमाडौं पठाएका छौं’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने। भारतबाट एकैपटक धेरै मानिसहरू आएकाले, एउटा मात्रै प्रयोगशालाले नधानेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.