जिन्दगीको असली कथा
काठमाडौं : क्रिकेट खेलाडी शरद भेषावकरसँग बिहे गरेपछि नायिका निशा अधिकारी गुमनामझैं भइन् । बच्चा जन्माउन अमेरिका गएपछि धेरैले ठाने, उनी उतै हराइन् । अब उतै बस्छिन् होला ।
हुन पनि ‘सानो बाँदर’ भन्दै गर्भवती भएको तस्बिरसमेत पोस्ट गरिरहने निशा एकाएक सामाजिक सञ्जालमा पनि अपडेट हुन छाडेकी थिइन् । जब कि उनी ६ महिने छोरा बोकेर नेपाल आएको पनि डेढ वर्ष भइसक्यो । ‘छोरा जन्मिएपछि ऊ नै सारा संसारझैं लाग्ने रहेछ । उसकै लालनपालनमा लागेपछि कताको सामाजिक सञ्जाल । आफ्नै जञ्जाल हुँदो रहेछ’, उनी भन्छिन् ।
अहिले निशा–शरद दम्पतीको छोरो युभान निशारद दुई वर्ष पुगेका छन् । लकडाउन अघिसम्म त निशारद मन्टेश्वरी स्कुल नै जान थालिसकेका थिए । स्कुलमा मादलको तालमा छोरालाई नाचेको देखेर निशा दंग पर्थिन् । उनले छोराकै लागि सानो मादल पनि किन्दिइन् । भन्छिन्, ‘बालुवाटारस्थित एक मन्टेश्वरी स्कुलमा करिब तीन महिना गयो छोरा । स्कुलमा लिन जाँदा आउनै मान्दैनथ्यो ।’ बच्चाहरूलाई नजानिँदो तरिकाले अनेक सिर्जना, कला सिकाउने प्रशिक्षण देखेर सक्नेलाई साना छोराछोरी मन्टेश्वरी स्कुलमा भर्ना गर्नसमेत सिफारिस गर्छिन् निशा ।
छोरा हुर्किने क्रमसँगै निशाको सोधखोज बालअधिकारतर्फ केन्द्रित भएको छ । बालबालिकाका आधारभूत आवश्यकता के के हुन् ? उनी गुगलमा सर्च गर्छिन् । छोरालाई भुलाउन आफू पनि पेन्टिङ गर्छिन् । असार पहिलो साता बालकथा लेखनको भर्चुअल तालिममा समेत उनी सहभागी भइन् । ‘अब छोरालाई बालकथा सुनाउँदै हुर्काउनुपर्छ, त्यसका लागि आफैंले कथा तयार पार्न सके अझ सहज हुने भनेर कथालेखन कार्यशालामा सहभागी भएँ’, उनी भन्छिन्, ‘सानैदेखि एनिमेसन फिल्म मन पराउने मलाई अझै पनि त्यस्तो फिल्म मन पर्छ भने बालबालिकालाई चित्रसहितको कथा मन नपर्ने कुरै छैन । उनीहरू कथामा आफूलाई खोज्छन् । छोराकै आँखाबाट संसार हेर्न बालकथा लेख्न सिक्दैछु ।’
फिल्म ‘कुम्भकर्ण’ र ‘मायज बार’मा उनले सानो छोराको आमा भएर अभिनय गरेकी छन् । उनी आफैंले निर्माण गरेको ‘झ्यानकुटी’ फिल्ममा पनि डेढवर्षे बालक आस्टर गुरुङको लामो रोल छ । ती त काल्पनिक कथा हुन् । अब बल्ल छोरासँगको जिन्दगी फिल्मको असली कथा फेला पारेको झैं लागेको छ निशालाई । अहिले उनको छोरा जति बेला पनि आमालाई नै खोज्छन् ।
त्यसो त अमेरिकामै छँदा छोरो चार महिनाकै हुँदा कपडाको किताब ल्याइदिएकी थिइन् उनले । एबीसीडी अंकित, विभिन्न पशुपन्छीको तस्बिर रहेको, समाउँदा प्लास्टिकको जस्तो आवाज आउने, धुन पनि मिल्ने त्यो किताब छोराले समातेको समात्यै गरेपछि उनी मक्ख पर्थिन् ।
निशाको बुझाइमा नेपालमा सार्वजनिक पुस्तकालयको अभाव छ । त्यसमाथि भएका पुस्तकालयमा बालपुस्तक छैनन् । उनी टोलटोलमा मोबाइल पुस्तकालय हुनुपर्ने जरुरी ठान्छिन् । उनले एउटै पोस्टको भरमा धेरै पुस्तक जुटाएकी छन् । लकडाउनपछि मोबाइल पुस्तकालयबारे केही गर्ने चाहना पालेकी छन् ।
लकडाउनपछि फिल्म खेल्ने योजनाबारे उनको भनाइ के छ त ? निशा भन्छिन्, ‘लकडाउन खुले पनि केही महिना फिल्म उद्योग चल्मलाउने छाँट देखिन्न । त्यसैले यसबारे केही सोचेकै छैन ।’ बरु उनले यो लकडाउन अवधिमा टेलिभिजनमा पो कमब्याक हुने कि भन्ने सोच बनाइरहेकी छन् ।
निशा प्रसूतिका लागि अमेरिका गएपछि केहीले छोराको जन्मसिद्ध नागरिकताका लागि गएको समेत अभिव्यक्ति दिए । उनी यस्तो अभिव्यक्ति कपोलकल्पित रहेको बताउँछिन् । ‘मेरो दाइ अमेरिका बस्नुहुन्छ । उहाँकहाँ गएकी हुँ । फेरि ए लेभल पास गरेको म आफैं पनि विदेशमा सेटल हुन सक्छु । छोराको देशबाहिर व्यवस्थापनका लागि मलाई अहिले नै किन मरिहत्ते गर्नु प¥यो’, भन्छिन्, ‘छोरोले नागरिकता पाउने बेलासम्म त म ५० कटिसकेकी हुन्छु । बुढ्यौलीमा झन् विदेशमोह हुन्न ।’
उनलाई आफ्नै नेपाली भाषा, संस्कृति प्यारो लाग्छ । पब्लिक फिगर भएका धेरै आफ्ना छोराछोरीले अंग्रेजी मात्रै बोल्ने गरेकोमा दंग परेका छन् । तर त्यसमा उनलाई दुःख लाग्छ । भन्छिन्, ‘प्राथमिक तहदेखि संस्कृत ऐच्छिक रूपमा पढाइने व्यवस्था गरिएपछि मान्छेहरू संस्कृत भाषाको विरोध गरिरहेका छन् । जब कि संस्कृतका ओम्लगायत शब्द अनि कतिपय यस्ता श्लोक छन् जसले असल स्वास्थ्यका लागि भाइबे्रसनको काम गर्छ ।’ उनलाई छोरालाई समेत संस्कृत सिकाउन मन छ ।
थुप्रै देश घुमे पनि काठमाडौंको जस्तो वातावरण, आफ्नो घरको जस्तो आनन्द कहीँ नपाएको बताउँदै उनी भन्छिन्, ‘मलाई काठमाडौं शान्त लाग्छ । मनमा शान्ति नभए विदेशमा बसेर के काम ? ’
हालै आत्महत्या गरेका बलिउडका नायक सुशान्तसिंह राजपुतको ‘धोनी ः अनटोल्ड स्टोरी’ फिल्म अहिले चर्चामा छ । ‘झ्यानकुटी’ फिल्मकी निर्मात्रीसमेत रहेकी निशा आफ्ना श्रीमान् क्रिकेट खेलाडी शरद भेषावकरको जीवनीमा आधारित फिल्म बनाउने सोच राख्छिन् त ? भन्छिन्, ‘यो सपनाको कुरा भयो, आँटै आउँदैन । करोडौं खर्च लाग्छ यसमा, कसरी जुटाउने ? नभए पारस, शक्ति गौचन, मीरा राई, वैकुण्ठ मानन्धरसम्म धेरै खेलाडीको बायोपिक फिल्म बनाउन सकिन्छ ।’ उनको विचारमा नेपालमा स्पोर्ट मुभीका दर्शक पाउन पनि गाह्रो छ ।
निशाका बाबा फुटबलका फ्यान हुन् । त्यसैले उनलाई पनि फुटबल निकै मन पर्छ । तर शरदसँग माया बढ्दै गएसँगै उनलाई क्रिकेट पनि निकै मन पर्न थालेको छ । भन्छिन्, ‘मन खाएको मान्छेको बानी मन परेझैं उसले खेलेको, खाएको पनि मन पर्दै जाँदो रहेछ । नियम बुझ्दै गएपछि क्रिकेट हेर्र्ने नशा बसेको छ ।’
अमेरिकाबाट छोरो च्यापेर फर्किएपछि निशाले ‘पोखराकी काली’ फिल्मको डबिङ पूरा गरिन् । छोरो हुर्काउने क्रमसँगै फिल्म क्षेत्रमा पनि मलजल गरिरहने उनको सोच छ । फोनमा कुराकानीको फुर्को अझ जोडिन्थ्यो होला । तर छोराले मम्मी भनेर कराएपछि उनले भनिन्, ‘म तपाईंलाई पछि कलब्याक गर्छु ल ।’