कोरोनासँग जुध्न ४३ लाखको स्वास्थ्य तथा खाद्यान्न सहयोग
दैलेख : कोरोना भाइरसको महामारीका क्रममा दैलेखका संघसंस्थाले सहयोगी हात अघि बढाएका छन् । कोरोनासँग जुध्न दैलेखका दश र अछामको एक स्थानीय तहमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले लाखौँ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेको छ । डिसिए नेपालको आर्थिक सहयोगमा संस्थाले दैलेखका दुल्लु, आठबिस, नारायण, चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले, महाबु, गुराँस, भगवतिमाई, ठाटिकाँध र भैरबी गाउँपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिकामा सहयोग गरेको हो ।
४३ लाख १२ हजार ५ सय ३३ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री सहयोग गरिएको हो । स्थानीय तह, स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो । स्वास्थ्य सामग्रीहरु पीपीई, गम बुट, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुन, थर्मामिटर लगायतका सामग्री रहेको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । स्थानीय तहको आवश्यकताका आधारमा सहयोग गरिएको श्रेष्ठको भनाइ छ ।
त्यस्तै स्थानीय तहमार्फत दैनिक ज्यालादारी गर्ने मजदुर, अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई खाद्यान्न वितरण गरिएको छ । वादी समुदाय, एकल महिला, एचआईभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अतिविपन्न परिवारलाई लक्षित गरेर खाद्य सामग्री स्थानीय तहमार्फत वितरण गरिएको श्रेष्ठले जनाए । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि दैनिक जीवन कष्टकर बनेका परिवारलाई चामल, तेल, नुन, दाल, चिनी, चियापत्ती लगाएतका खाद्यान्न सहयोग गरिएको हो । ती नागरिकलाई खाद्यान्नसहित स्वास्थ्य सामग्रीहरु साबुन, सरफ, मञ्जन, ब्रस, सेनेटरी प्याड समेत प्रदान गरिएको छ ।
संस्थाद्वारा सहयोग सामग्री आवश्यकता अनुसार विभिन्न समुदाय, क्वारेन्टाइन स्थल, स्वास्थ्य संस्थाहरुमा वितरण गरिसकेको स्थानीय तहले जनाएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर देवराज देवकोटाले महामारीसँग लड्न स्थानीय तहको एक्लो प्रयासले मात्रै नपुग्ने भएकाले गैरसरकारी संस्थाहरुले सहयोग गरेको बताए । ‘स्वास्थ्य सामग्रीको अभाव भइरहेका बेला विभिन्न निकायबाट यसरी सहयोग पाउँदा खुसी लागेको छ,’ मेयर देवकोटा भन्छन्, ‘दैनिकी कष्टकर बनेका ज्यालामजदुरी गरेर गुजारा गर्ने अतिविपन्न परिवारको खाद्यान्न सहयोग पाएका छन् ।’