मकैबालीमा फौजी किराको प्रकोप

मकैबालीमा फौजी किराको प्रकोप

कालिकोट : जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाको थानकोट, मेग्र लगायतका गाँउमा स्थानीय किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । 
    

पुतली वर्गमा पर्ने निशाचर किराले दोस्रोपटक गोडमेल गर्ने बेलाको मकै सखाप पारेपछि किसान चिन्तित भएका छन् । वैशाखमा छरेको मकै एकपटक गोडमेल गरी हुर्किसकेको अवस्थामा दोस्रो पटक गोडमेल गर्न जाँदा किराले सखाप पारेको थाहा पाएको किसानले बताएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ थानकोटका स्थानीय किसान बेला बिकले बताइन् । ‘७ पाथी बिउ जाने जमीनमा मकै बाली लगाएको थियो । अरु खेत छैन । त्यो खेतमा लगाएको मकै बाली सबै किराले नष्ट गराएको छ । ६ जनाको परिवार कसरी पाल्ने  ?', उनले भनिन्, 'मकैबारी र भारी बोकेर कमाएको पैसाले चामल किनेर परिवारको छाक टारिन्थ्यो । श्रीमानका पाँच भाई सबैका बराबर पाखो बारी छ । सबैको मकै बाली किराले नष्ट बनायो ।’
   
यस्तै स्थानीय प्रमिला पाण्डेको २२ पाथी बिउ जाने जमिनमा लगाएको मकै बाली पनि सबै फौजी किराले नष्ट बनाएको छ । भैसीको दूध बिक्रि गर्ने र खेतमा मकै उत्पादन गरी परिवार पाल्दै आएकोमा मकै किराले खाएपछि भोकमारी हुने जोखिम बढेको छ । उनले भनिन्, ‘पहिलोपटक गोडमेल गरेको मकै हलक्क बढेको थियो । दोस्रोपटक गोडमेल गर्न खेतमा आउँदै पुरै मकै नष्ट भएको देखियो । मकैको पात र गाभमा किराले खाएर सुक्न थालेको छ ।'

स्थानीय अने बिक, नरेन्द्र विक लगायतका थान र मेग्रका गरी एक सय बढी किसानको मकैबालीमा क्षति पुगको छ । स्थानीय अने विकले भने,‘पहिलेको मकै उखेलेर नयाँ मकै छर्ने सिजन पनि गइसक्यो । त्यसमा अरु के बाली लगाउने । हाम्रो त फौजी किराले गाँस काटिदियो । जौबाली निस्किने बेलाको मकैमा किरा लागेपछि पुरै मेहनत र लगानी पनि खेर गयो ।’ जिल्लाको खाँडाचक्र नगरपालिकामा पहिलोपटक अमेरिकन फौजी किराको प्रकोप देखिएको कृषि विकास कार्यालय कालिकोटका प्रमूख भरत बस्नेतले बताए । उनले भने, ‘तीन वर्ष पहिले अमेरिकाबाट उत्पति भएको उक्त किरा यो वर्ष कालिकोटमा मकैबालीमा पहिलो पटक देखिएको छ । यसले मकै बालीमा पुर्‍याएको क्षत्रीले गर्दा किसान समस्यामा परेका छन् ।’ कर्णाली प्रदेश अर्गानिक घोषणा गरेसँगै रसायनिक विषादीको प्रयोग रोकिएको छ । तर यो किरालाई नियन्त्रणमा लिन रसायनिक विषादी प्रयोग गर्नु पर्ने अवस्था आएको छ । जिल्लामा विषादी नपाइने भएकाले सुर्खेतबाट मगाइएको छ । 
  
उनका अनुसार सामान्यतया २० डिग्री सेल्सीयसदेखि माथि तापक्रम भएको ठाँउमा यो किरा फैलिने गर्दछ । यो एकै रातमा एक सय किलोमिटर टाढासम्म जान सक्छ । जिल्लाको तल्लो तहमा यो महामारीका रुपमा फैलिन सक्ने जोखिम बढेको छ । यसलाई तत्काल नियन्त्रण गर्न नसकिए मकैबाली सखाप हुने अवस्था छ । जिल्लामा ३ हजार हेक्टरमा मकै खेती हुँदै आएको छ । जिल्लामा ६ हजार टनभन्दा बढी मकै उत्पादन हुने अनुमान गरिएको थियो । अब त्यसमा गिरावट आउनुका साथै खाद्य संकट हुने अनुमान गरिएको छ । जिल्लामा हुने स्थानीय उत्पादनमा मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा फौजी किराको प्रकोप देखिंदा किसान चिन्तित छन् । यसको प्रकोप नियन्त्रणका लागि विषादीको अनिवार्य प्रयोग गनुपर्ने अवस्था आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.