सिन्धुली अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि
सिन्धुली : बिहीबार राती सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पाइएको छ । मृतक महिलाको स्वाबको नमुना परीक्षणका क्रममा कोरोना भाइरस (कोभिड १९) नेगेटिभ देखिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीले जानकारी दिए ।
महोत्तरीको पाटु घर भइ सिन्धुलीको घ्याङलेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा बसेकी २१ वर्षीयालाई अत्याधिक ज्वरो आएपछि अस्पतालको इमरजेन्सी कक्षामा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।
मृतक महिलाको फोक्सोमा पानी जमेको, रगतमा इन्फेक्सन भएको र मृगौलामा समस्या देखिको थियो । महिलामा कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोनाको आशंकामा पीसीआर टेष्ट गर्न काठमाडौदं स्थित टेकु अस्पताल पठाइएको थियो । अस्पतालको रिपोर्ट अनुसार ती महिलामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको डाक्टर राजभण्डारीको भनाइ छ । मृतक महिलाको शुक्रबार नै शव व्यवस्थापन गरिसकिएको छ ।