बैतडीमा थप २४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २३० पुग्यो
बैतडी : बैतडीमा शनिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए ।
पञ्चेश्वर गाउँपालिकाका ५ महिला र १२ पुरुषसहित १७ जना र सुर्नया गाउँपालिकाका ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु ८ देखि ४९ वर्ष उमेर समूहका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । पुष्टि हुने सबै भारतबाट फर्किएका र आरडिटी पोजिटिभ आएका नागरिक हुन् । उनीहरु सबै क्वारेन्टाइनमा रहेका र छुट्टै आइसोलेट गर्ने तयारी भएको जनाइएको छ ।
योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ । जिल्लामा आरडिटी पोजिटिभ आएका ४ सय बढी नागरिकको पीसीआर रिपोर्ट अझै आउन बाँकी रहेको छ ।