छिर्‍यो सलहको बथान

छिर्‍यो सलहको बथान

काठमाडौं : सरकारको दाबीलाई झुटो सावित गर्दै सलह फट्यांग्राको बथान शनिबार नेपाल छिरेको छ । भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका नेपालको तराई क्षेत्रमा बिहान ७ देखि ८ बजेको बीचमा त्यसको बथानै देखा परेको हो ।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सलहले कृषि क्षेत्र ध्वस्त पारे समस्या झनै विकराल बन्ने चिन्ता विज्ञले व्यक्त गरेका छन् । यी किराले लगाउन सुरु भएको बर्खे धान बाली, धानको बीउ, फलफूलका बोटबिरुवा र तरकारीका बाली खाएर नष्ट गर्न थालेका छन् । सुरुमा रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुरमा सलह देखिएको हो । त्यसपछि साँझसम्म सिन्धुली र नवलपरासीसम्म पुगिसकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार यसको बथान बिस्तारै अन्य जिल्लामा पनि प्रवेश गर्दै छ ।

‘हिजोअस्ति दक्षिणबाट उत्तरतर्फ बगेको हावाको वेगले उक्त फट्यांग्रालाई भारतको बिहार र उत्तर प्रदेश राज्यको विभिन्न सीमा हुँदै नेपालमा ल्याइपुर्‍याएको हो’, केन्द्रका प्रमुख सहदेव हुमागाईंले भने ।

मन्त्रालयले जेठ २४ गते नेपालमा यो फट्यांग्राको प्रवेश तत्कालका लागि टरेको बताएको थियो । मन्त्रालयको दाबी झन्डै तीन सातामा शनिबार गलत साबित भएको हो । सलहका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल प्रवेश नहुने भन्दै केन्द्रले मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

सलहको प्रवेश रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले केन्द्रका प्रमुख हुमागाईंको संयोजकत्वमा कार्यदल बनाएको थियो । संयोजक हुमागाईंले नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेको यो फट्यांग्राको प्रवेश तत्कालका लागि रोकिएको भन्दै प्रतिवेदन दिएका थिए । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का सलहविज्ञ किथ किस्म्यानको सहकार्यमा अध्ययन गरिएको थियो ।

उक्त टोलीले फट्यांग्राको बथान ससानो टुक्रामा परिणत भई भारतकै विभिन्न सहर हुँदै राजस्थान तथा मध्य प्रदेशतर्फ मोडिएको, नेपाल र बंगलादेशमा यसलाई आवश्यक पर्ने हावा तथा मनसुनी वर्षा प्रतिकूल बनेको प्रतिवेदन उपलब्ध गराएको थियो । केन्द्रले शनिबार प्रवेश गरेको फट्यांग्रा सलह हो कि होइन भनेर वैज्ञानिक रूपमा पुष्टि गर्न कृषिज्ञान केन्द्रका विज्ञ कर्मचारी खटाएको थियो । विज्ञ कर्मचारीलाई उच्च गुणस्तरको क्यामेराबाट फट्यांग्राको टाउको, पेट, एन्टिना, आकारप्रकार र रङको बारेमा तस्बिर लिन भनिएको थियो । उनीहरूले कार्यक्षेत्रबाट पठाएको तस्बिरका आधारमा मन्त्रालयले सलह फट्यांग्रा नै रहेको पुष्टि गरेको हो ।

त्यसपछि दिउँसो मन्त्रालयले जुम एपमार्फत आपत्कालीन भर्चुअल बैठक आयोजना गरेको थियो । एफएओको क्षेत्रीय कार्यालय थाइल्यान्डको संयोजनमा उक्त बैठक चलेको थियो । त्यसमा दुई दर्जनभन्दा बढी विज्ञ कर्मचारी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कीटपतंग वैज्ञानिक, पाकिस्तानका दुई जना सलह फट्यांग्रा वैज्ञानिक सहभागी थिए ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भर्चुअल बैठकमार्फत विज्ञले दुई घण्टा गहन छलफल गरेको बताए । नेपाल प्रवेश गरेको फट्यांग्राको विस्तृत जानकारी विज्ञहरूबीच आदानप्रदानका साथै यसको रोकथामबारे छलफल भएको उनले सुनाए । बैठकलगत्तै यो किरा भित्रिएको क्षेत्र र नजिकका जिल्लाका कृषि प्राविधिक र स्थानीय तहलाई सचेत रहन सरकारले आग्रह गरेको छ । उक्त फट्यांग्रा कुन बाटोबाट कुन–कुन स्थानमा प्रवेश गर्दै छ, त्यसको विषयमा विस्तृत अध्ययन गर्न पनि निर्देशन दिइएको छ । एफएओका अनुसार सामान्यतः एक वर्ग किलोमिटरदेखि ५ सय वर्ग किलोमिटरको क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झन्डै चारदेखि आठ करोड फट्यांग्रा हुन्छन् । यी फट्यांग्रा एक दिनमा करिब एक सय ३० किलोमिटरदेखि अधिकतम ५ सय किलोमिटरसम्म बथानै उडेर यात्रा गर्छन् । अनुकूल गन्तव्यमा पुगेर जमिनमा ओर्लिन्छन् । यसको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञको भनाइ छ । एफएओले सलहको प्रकोपलाई प्लेगको संज्ञा दिएको छ ।

नार्कका कीट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा. सुनील अर्यालले यो फट्यांग्राले सम्पूर्ण कृषि तथा फलफूल बालीको बोटबिरुवा, बाली, फूल, फल, डाँठ, डाँठको बोक्रासम्म खाइदिने बताए । यो पुगेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने उनको भनाइ छ । ‘यो जहाँ बस्छ, त्यहाँको हरियाली र बाली सम्पूर्ण रूपमा नष्ट गरी अनिकाल र भोकमरीको अवस्था सिर्जना गरिदिन्छ’, उनले भने । मन्त्रालयका उपसचिव गंगादत्त आचार्यले आइतबार कृषिमन्त्री घनश्याम भुसालको संयोजकत्वमा दोस्रो आपत्कालीन बैठक बस्ने बताए । ‘आइतबार विज्ञ, प्राविधिक र विपद् व्यवस्थापन प्राधिकरणसँग गहन छलफल गर्दै छौं’, उपसचिव आचार्यले भने, ‘त्यस बैठकमा हुने छलफलका आधारमा यो फट्यांग्रालाई नियन्त्रण गर्ने उपाय, संघीय, प्रादेशिक र स्थानीय तहसम्म विषादी उपलब्धताको अवस्था विश्लेषण र नियन्त्रण टोली परिचालन गर्ने विषयमा टुंगो लाग्नेछ ।’

जब हावाको दिशा र गति बदलियो

मन्त्रालयले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गरी अचानक हावाको दिशा र गतिमा परिवर्तनका कारण ससानो झुन्डमा यो फट्यांग्रा नेपाल प्रवेश गरेको जनाएको छ । यो फट्यांग्राको प्रकोपलाई नियन्त्रण गर्न तीनै तहका सरकारलाई सचेत रहन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । वरिष्ठ वैज्ञानिक अर्यालका अनुसार सिस्टोसर्का ग्रिगारिया वैज्ञानिक नामले चिनिने यो फट्यांग्रा पहिलो पटक भने नेपालमा प्रवेश गरेको होइन । उनका अनुसार सन् १९६०, १९६२ र १९०६ मा काठमाडौं उपत्यकाका भक्तपुर, गोदावरीसहित धादिङ, काभ्रे, नुवाकोटलगायत स्थानमा यसको प्रवेश भएको थियो । तत्कालीन समयमा यो फट्यांग्राले यस्ता स्थानको सबै प्रकारको बाली नष्ट गरेको उनले उल्लेख गरे ।

के छ नियन्त्रणको उपाय ?

विज्ञले यो किरा नियन्त्रण गर्न केही विषादी र प्रयोग गर्न परिमाण पनि सुझाएका छन् । मालाथिन नामको विषादी ५० प्रतिशत इसी, ल्याम्डा साइहेलोथ्रिन ५ प्रतिशत इसी, क्लोरपाइरिफोस २० प्रतिशत इसी, डेल्टामेथ्रिन २.८ प्रतिशत इसी र डेल्टामेथ्रिन ११ प्रतिशत इसीमध्ये कुनै एक विषादी प्रयोग गर्न सकिने जनाइएको छ । चीनमा कोरोना भाइरसको प्रकोप देखिनुअघि अफ्रिकी महादेशका केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथोपियालगायत मुलुकमा यो फट्यांग्राले उत्पात मचाएको थियो ।

यसरी छिर्‍यो नेपालमा

सन् २०१८ मा आएको लुभान चक्रवातसँगै दक्षिण अरबको प्रायद्वीपमा यो फट्यांग्राको ठूलो बथान देखा परेको थियो । उक्त क्षेत्रमा मरुभूमि भएकाले मानव बस्ती शून्य रहेका कारण कसैले यसबारे चासो देखाउन सकेनन् । सन् २०१९ जनवरीमा यो बथान अफ्रिका, यमन, साउदी अरब हुँदै इरानमा प्रवेश गर्‍यो । वैज्ञानिक अर्यालका अनुसार अनुकूल मौसमको फाइदा उठाउँदै सन् २०२० को सुरुमै त्यसको एक बथान अफ्रिकाबाट खाडी मुलुक हुँदै पाकिस्तान छिर्‍यो । दोस्रो बथान हिन्द महासागर हुँदै भारतमा आयो । भारतका दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, उडिसा, बिहार, राजस्थानमा उत्पात मचाएर पछिल्लो समय नेपालमा प्रवेश गरेको हो । ‘सुक्खा खडेरी मौसम, पानी नपरेको र हावाको वेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ’, अर्यालले भने, ‘भारत र पाकिस्तानमा प्रवेश गरेको समय ती दुवै मुलुकको सीमा क्षेत्रमा ग्रीष्म ऋतु थियो । त्यो ऋतु सलह फट्यांग्राको प्रजननका लागि निकै अनुकूल समय मानिन्छ ।’ त्यही मौसमको फाइदा उठाएर भएको प्रजननका कारण मार्चदेखि भारतमा ठूलो संख्यामा यो फट्यांग्राको बथान उत्पादन भएको उनले बताए । यसको प्रकोपलाई नियन्त्रण गर्न भारत र पाकिस्तान सरकारले संयुक्त रूपमा कार्यदल गठन गरी नियन्त्रण टोली परिचालन गरेको छ ।०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.