कर्मथलो फेर्दै आरसीटी र एनआरटी
धादिङ (धार्के) : रानीपोखरी कर्नर टिम (आरसीटी) र न्युरोड टिम (एनआरटी) क्लब नेपाली फुटबलका आधारस्तम्भ हुन्। नेपाली फुटबलमा लामो इतिहास बोकेका यी दुई क्लबले काठमाडौंको रानीपोखरी र न्युरोडकै नामबाट आफूलाई चिनाए। क्लबलाई अभ्यास र तयारी गर्न टुँडिखेल पर्याप्त थियो। प्रतियोगिता खेल्न दशरथ रंगशाला छँदै थियो।
बढ्दो सहरीकरण र अतिक्रमणमा परेको टुँडिखेलले अब क्लब फुटबल धान्ने अवस्था छैन। राजधानीभित्र खाली जग्गा पाउन पनि मुस्किल छ। सार्वजनिक जग्गाको कमीले गर्दा ६ पटकको ‘ए’ डिभिजन लिग विजेता आरसीटी र चार पटकको विजेता एनआरटीले आफ्नो कर्मथलो परिवर्तन गर्ने सोच बनाएका छन्।
यी दुई क्लब अहिले काठमाडौंसँगै जोडिएको धादिङको धुनिबेँसी नगरपालिकास्थित धार्केमा अभ्यास मैदान र एकेडेमी बनाउने तयारीमा छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालको समन्वय र अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा आरसीटी र एनआरटीले धुनिबेँसी नगरपालिकाको धार्केस्थित भुवनेश्वर माध्यमिक विद्यालयको करिब ३३ रोपनी क्षेत्रफलको मैदानलाई एकेडेमीका रूपमा विकास गर्ने तयारी गरेका हुन्।
सदस्यसचिव सिलवाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित दुवै क्लबका पदाधकारीले बिहीबार फुटबल मैदान निरीक्षण गरेका थिए। दुवै क्लबले यस मैदानलाई आफ्नो घरेलु मैदानसहित एकेडेमी बनाउने योजना बनाएका छन्।
फुटबलको आधुनिकतालाई आत्मसात् गर्न राजधानी छाड्नुको विकल्प नभएको एनआरटीका अध्यक्ष सुन्दर जोशीले बताए। ‘पहिले जमाना बेग्लै थियो। टुँडिखेलमा अभ्यास गर्न पाइन्थ्यो। क्लब चलाउन सानो भवन भए पुग्थ्यो। अहिले फुटबल बदलिएको छ। क्लबलाई अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउन आफ्नै मैदान र एकेडेमी आवश्यक छ; जुन कुरा काठमाडौंमा सम्भव छैन’, जोशीले भने।
आरसीटीका उपाध्यक्ष कुमार राजभण्डारीले क्लबको इतिहास र फुटबललाई टिकाइराख्न मैदान र एकेडेमी निर्माण गर्न लागेको बताए। ‘फुटबल विगतको जस्तो रहेन। काठमाडौंमा जग्गा किनेर मैदान बनाउने हैसियत क्लबको छैन। फुटबल र क्लबलाई जीवित राख्न पनि काठमाडौंबाहिर आएका हौं’, राजभण्डारीले भने। राखेप, एन्फा र स्थानीय तवरबाट सहयोग भएमा आरसीटीले एकेडेमीसहितको मैदान बनाउने लक्ष्य राखेको पनि उनले बताए। क्लबका पदाधिकारीले धुनिबेँसीकै बानियाँटार र थाक्रेस्थित गनेशेचौर मैदानको पनि निरीक्षण गरेका थिए।
भुवनेश्वर माविको मैदानले मात्र क्लबलाई प्यारापिट, होस्टललगायत सुविधासम्पन्न मैदान निर्माण गर्न नपुग्ने भएकाले सँगै रहेको साढे ६ रोपनी निजी जग्गासमेत किन्न पहल गरिने भएको छ। जग्गा प्राप्तिका लागि धुनिबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, भुवनेश्वर मावि र स्थानीय बासिन्दाले समेत पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
भुवनेश्वर मैदानलाई प्यारापिटसहितको फुटबल मैदान बनाउन प्रदेश ३ सरकार र धुनिबेँसी नगरपालिकाले साढे दुई करोड रुपैयाँ बजेट विनियोजन पनि गरेको छ। अहिले मैदान र प्यारापिट निर्माणका लागि विद्यालयले एक करोड ८० लाख रुपैयाँ टेन्डरसहित निर्माण कार्य अगाडि बढाइसकेको छ।
स्थानीयवासीमा उत्साह ०००००००
पृथ्वी राजमार्ग नबन्दासम्म भुवनेश्वर मैदान परिसर भारी बोकेर काठमाडौं आवतजावत गर्ने ढाक्रे (भारी बोक्ने बटुवा)को राती बास बस्ने ठाउँ थियो। परापूर्व कालमा रोपिएका ठूला आँप र पाटीपौवाले अहिले पनि यहाँको पुरानो याद आउने स्थानीयवासी बताउँछन्।
ढाक्रे बास बस्ने ठाउँमा आधुनिक फुटबल मैदान र ‘ए’ डिभिजन क्लबको एकेडेमी बन्नु खुसीको कुरा भएको भुवनेश्वर माविका प्रधानाध्यापक गणेश रेग्मीले बताए। ‘आफ्नै स्कुलको मैदानमा फुटबल एकेडेमी बन्दा विद्यार्थी र स्थानीय युवा पक्कै लाभान्वित हुनेछन्। स्तरीय खेलाडी आएर खेल्दा यहाँबाट पनि राम्रा खेलाडी उत्पादन हुने ठानेका छौं’, रेग्मीले भने।
धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले राजधानीसँगै जोडिएको यस ठाउँलाई खेलकुदको माध्यमबाट पनि चिनाउने सोच रहेको बताए। उनले नगरपालिकाले वडापिच्छे एउटा खेलमैदान बनाउन सुरु गरेको जानकारी पनि दिए।
राखेप सदस्यसचिव सिलवालले काठमाडौं नजिक पर्याप्त मैदान भएर पनि धादिङ फुटबलमा कमजोर रहेको बताए। ‘धुनिबेँसीलाई पहिला अम्बा, उखु, तरकारीजस्ता कृषिजन्य उत्पादनले चिनायो। अब खेलकुदको माध्यमबाट पनि यहाँको पहिचान बनाउन सकिन्छ। भएको मैदानलाई स्तरोन्नति गरी व्यावसायिक खेलाडी उत्पादन गर्न सक्ने अवस्था छ। यसका लागि राखेपले सक्दो सहयोग गर्नेछ’, सिलवालले भने। नौबिसे–काठमाडौं सुरुङ मार्गको निर्माणले पनि धुनिबेँसी नगरपालिकाको खेलकुद, कृषि र पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास सिलवालले गरे।
धुनिबेँसी युवा क्लबका अध्यक्ष दिनेश रूपाखेतीले आफूहरू खेल्ने मैदानमा देशकै चर्चित ‘ए’ डिभिजन क्लब आरसीटी र एनआरटी आउनु सोचेभन्दा ठूलो कुरा भएको बताए। ‘यहाँ फुटबलको क्रेज धेरै छ। दैनिक ५० देखि ६० जना खेलाडीले खेलिरहेका छन्। तर आवश्यक प्रशिक्षण र अवसर नपाउँदा यहाँको एकजना खेलाडी पनि राष्ट्रिय स्तरमा पुग्न सकेका छैनन्। एन्फा र ठूला क्लबले चासो दिए फुटबलमा धेरै गर्न सकिन्छ’, रूपाखेतीले भने।
क्लब लाइसेन्सको सकस
एसियाली फुटबल महासंघ (एएफसी)ले क्लब फुटबल र लिग सञ्चालनका लागि सन् २०१८ देखि क्लब लाइसेनिङको प्रावधान अघि सारेको छ।
लाइसेन्सका लागि प्रत्येक क्लबको आफ्नै मैदान, खेलाडीको वर्षभर कम्तीमा नियमित १८ जना अनुबन्ध र पारि श्रमिकको व्यवस्था गरिनुपर्ने, होम एन्ड अवे लिग, क्लबको बलियो आर्थिक अवस्था, यू–१६, यू–१८ युवा टोली, मिडिया म्यानेजर, कार्यकारी अधिकृत (सीईओ)लगायत व्यवस्था हुनुपर्छ। तर, नेपालका कुनै पनि क्लबसँग यस्तो खालको संरचना र आर्थिक हैसियत छैन।
नेपालका कुनै पनि क्लबले तोकिएको मापदण्ड पूरा नगर्दा एएफसीले गत वर्ष क्लबको लाइसेन्स निवेदन खारेज गरिदिएको थियो। एएफसीले निवेदन खारेज मात्र होइन, एन्फाले ‘क्लब लाइसेनिङ रेगुलेसन’ विपरीत कार्य गरेको भन्दै एन्फालाई १० हजार अमेरिकी डलर जरिवानासहित सचेत पनि गराएको थियो।
एन्फाले किर्ते कागज बनाएर एएफसीमा क्लब लाइसेन्सका लागि १४ वटा ‘ए’ डिभिजन क्लबको नाम सिफारिस गरेको ठहर एएफसीको थियो। एएफसीको पछिल्लो निर्णयले नेपालका क्लबले मापदण्ड पूरा नगरी अब एएफसी कपलगायत शीर्ष स्तरको एसियाली प्रतियोगिता खेल्न पाउने छैनन्।
एन्फा अध्यक्ष शेर्पाले फुटबलमा रहन पनि क्लबलाई आफ्नै मैदानसहितको भौतिक संरचना आवश्यक रहेको बताए। ‘संरचनाबिना लाइसेन्सका लागि पहल गर्दा गत वर्ष ठूलो जरिवाना तिर्नु प¥यो। त्यसैले क्लबहरूलाई मैदानको बन्दोबस्त गर्न लागिपरेका हौं। एन्फाले सबैसँग मिलेर उपत्यकाबाहिर पनि क्लबको मैदान र एकेडेमी निर्माण कार्य अगाडि बढाउँदै छ। धादिङमा जग्गा खोजी त्यसैको परिणाम हो’, शेर्पाले भने।
नेपालमा अहिले विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ तथा जाउलाखेल क्लबको आफ्नै मैदान छ। ती पनि मापदण्डअनुरूप छैनन्। संकटा, हिमालय शेर्पा र मनाङ मस्र्याङ्दी क्लब पनि मैदान निर्माणमा लागिसकेका छन्। क्लब र स्वयंम एन्फासँग पर्याप्त र स्तरीय भौतिक संरचना नहुँदा नेपालका लागि क्लब लाइसेन्स प्रणाली लामो समय सकस बन्ने देखिएको छ।