पाटन अस्तालमा चुस्त सेवा
ललितपुर : ताल्छीखेलकी प्रनिशा राई कोरोना सुरु भएपछि दुईपटक पाटन अस्पताल पुगिन्। पेट दुख्ने समस्याका कारण उनी शुक्रबार पनि फलोअपमा गइन्। पैदलै आउन सजिलो भएकाले पाटन आएको उनले बताईन्। उनका अनुसार उनी पहिला आउँदा पनि उत्तिकै भीडभाड थियो शुक्रबारको जस्तै। उनको पालो ५४ नम्बरमा थियो।
करिब डेढ घन्टा कुर्नु पर्यो उनले। तर, यो पर्खाई समस्या नबनेको र अस्पतालको सेवादेखि उनी सन्तुष्ट बनेको बताइन्। उनले भनिन्, ‘मुख्यद्वारमा स्क्रिनिङ गर्नेरहेछ, भित्र पनि राम्रै सेवा दिएका छन्।’ सौगल पाटनकी सुशिला भुजेललाई पनि पाटनको सेवा चित्त बुझ्दो नै लागेको छ। नौ महिनाको गर्भवती भएका कारण उनले प्रत्येक साता अस्पताल पुग्नुपर्ने हुन्छ। बहिरंग सेवामा पहिलाको जस्तो भीड नहुँदा सजिलो अनुभूति गरेको भनाइ शिवशंकर परियारको छ। आठ वर्षकी छोरी स्तुतिलाई स्वास्थ्यमा गडबडी भएपछि उनी पाटन पुगेका थिए। उनले भने, ’भीडमा कुर्नु त ठिकै हो तर यो समयमा पनि एक÷डेढ घन्टा नै कुर्नुपर्यो।’
आफ्नो उमेर बताउन नसक्ने कान्छी तामाङ नखुडोलबाट पाटन पुगेकी थिइन्। पेट निमोठ्ने, दुख्ने, वाक् वाक् भएजस्तो हुनेलगायतका समस्याले पुगेकी उनी आफ्नो रिपोर्टको पर्खाइमा थिइन्। उनले भनिन्, ‘खोइ आधा घन्टामा आउँछ भनेकी छ छोरीले।’ काठमाडौ बाहिरबाट आउने बिरामीका आफन्त कोरोनाका कारण अन्यत्र बस्न नपाएको र अस्पतालमै बास बसेको बताए। अस्पतालले आफ्ना बिरामीलाई राम्रो हेरिदिएकाले खुसी लागेको सिराहाका रामकरण ठाकुरले बताए।
पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालले कोरोनामा पनि बहिरंग सेवा निरन्तर चलाएको बताए। लकडाउन सुरु हुँदा पनि दैनिक कम्तीमा एकदेखि डेढ सय बिरामी आउने गरेको र हाल छदेखि सात सयको हाराहारीमा पुगेको बताए। सामान्य अवस्थामा यो समयमा दुई हजारदेखि बाइससम्म बिरामी आउथे। कोठामा १७÷१८ जना डाक्टर बसे पनि हाल आठजनामा झारेको जानकारी दिए। ‘नत्र बिरामीको जस्तै डाक्टरको पनि भीड हुने भयो’, शर्माले भने, ‘सबैलाई सुरक्षा सावधानी अपनाएका छौं।’
पाटनले पहिला आठ बजे टिकट काउन्टर खुलाए पनि अहिले सातदेखि नै खुलाएको छ। भीड कम गर्न यसो गरिएको हो। पहिला राउन्ड लगाएर ओपीडीमा डाक्टर आउँथे। तर ओपीडी र राउन्डका लागि फरक डाक्टर तोकिएका छन्। प्रत्येक विभागबाट तीनजना डाक्टर खटाइएका छन्। पहिलाभन्दा ढिला समयसम्म बस्ने र बिरामी सकिएको खण्डमा पनि जान नमिल्ने बनाइएको छ। अस्पतालको मुख्य ढोकाबाट स्क्रिनिङ हुँदै आएको र शंका लागेकालाई फिभर क्लिनिक पुर्याइँदै आएको उनले बताए। डाक्टरले खाना जाँदा पनि पालो गर्ने गरिएको छ। ‘अधिकतम सुरक्षा अपनाएर सक्दो काम गरिरहेका छौं’, शर्माले भने, ‘शतप्रतिशत गर्यौं भनेर दाबी गर्दैनौं तर सकेको गर्ने हो।’ बिरामीमा जनचेतनाको अभाव देखेको उनको भनाइ छ। उनले भने, ‘न मास्क लगाउँछन्, न दूरी कायम गर्छन्।’