कोरोना कहर : पीसीआर रिपोर्ट नेगेटिभ आएको १५ दिनमै पोजिटिभ आएपछि!
भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रियाको लागि भर्ना भएकी १४ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको वीर अस्पतालमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएकी उनको भक्तपुर क्यान्सर अस्पतालले परीक्षण गर्दा पनि पोजिटिभ आएको हो ।
भक्तपुर क्यान्सर अस्पतालका अनुसार गएको जेठ २७ गते वीरमा उनको स्वाब संकलन भएको थियो । पीसीआर परीक्षणका लागि लिइएको उक्त स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
सिन्धुपाल्चोक घर भइ हाल मध्यपुर थिमि नगरपालिकामा डेरा गरी बस्ने ती बालिकामा ब्रेन ट्युमर भएको थियो । ब्रेन ट्युमरको शल्यक्रिया गर्न सुरुमा उनलाई वीर लगिएको थियो तर वीरमा खर्च बढ्ने देखिएपछि उनलाई भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको थियो ।
कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा उनलाई भक्तपुर ल्याइएन । घरपरिवारसँगै रहेकी उनलाई असार ११ गते मंगलबार भक्तपुर क्यान्सर अस्पताल लगिएको थियो । अस्पतालले पनि भर्ना लियो । उनलाई अस्पतालको एनेक्स भवनको न्यूरो वार्डमा राखियो ।
अस्पतालका चिकित्सकले शल्यक्रिया गर्न उनको पुनः कोरोना भाइरस परीक्षण गर्न भने । उनका अभिभावकले वीरमा जँचाएकै रिपोर्ट देखाए तर स्वाब लिएको १५ दिन नाघिसकेको थियो । 'कोरोना भाइरसको इन्कुबेसन पिरियड १४ दिन मानिन्छ,' ती चिकित्सकले भने, 'त्यसैले पुनः कोरोना परीक्षण गर्न सुझाएको थिएँ । परिणाम पनि पोजिटिभ नै आयो । धन्न शल्यक्रिया गरेनौं ।'
भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीले मंगलबार नै ती बालिकाको स्वाब संकलन गरेको थियो । उनको स्वाब पाटन अस्पताल पठाइएको ती चिकित्सकले जानकारी दिए । जसको रिपोर्ट शनिबार रातिमात्रै आएको अस्पतालले जनाएको छ । उक्त रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नै ती बालिकालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनले भक्तपुर क्यान्सर अस्पतालको ती बालिका रहेको वार्डसँगै अस्पताललाई निसंक्रमण गर्ने कार्य भइरहेको बताए । 'संक्रमित बालिकासँगको कन्ट्याक्ट ट्रेसिङ पनि गर्दैछौं, प्रमुख मिजारले भने, 'क्लोज कन्ट्याक्ट भएका सबैलाई आइसोलेसनमा राख्छौं।उहाँहरुको पनि कोरोना परीक्षण गर्छौं।'
शनिबारमात्रै चार वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको थियो ।मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्दै आएकी ती बालिकाको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले गरेको परीक्षण कोरोना पोजिटिभ देखिएको थियो ।
उनलाई पेट दुखेर उपचारका लागि केएमसी लगिएको थियो । बालिकामा एपेन्डिसाइटिस भएको अस्पतालले जनाएको छ । त्यसैले शल्यक्रियाको लागि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
उनलाई पनि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए । ती बालिकाको कुनै यात्रा विवरण छैन ।संक्रमित बालिकाको घर र उनी बस्ने टोलमा सिल गरिएको उनले बताए । यससँगै भक्तपुरमा संक्रमितको संख्या २४ पुगेको छ। यो संख्या स्वास्थ्य मन्त्रालयले भक्तपुर जनाएर सार्वजनिक गरेको हो।भक्तपुरका स्थानीय भने पाँच जनामात्रै रहेका छन्। जसमध्ये ९ जना कुवेतबाट फर्किएका, ४ जना यूएईबाट फर्किएका र बाँकी ६ जना जिल्ला बाहिरका छन्।