तोकिएकै समयमा कांग्रेस महाधिवेशन

तोकिएकै समयमा कांग्रेस महाधिवेशन

काठमाडौं : कोरोना संक्रमणका कारण महाधिवेशन अनिश्चित हुने आशंका भइरहेका बेला कांग्रेसले तोकिएकै समयमा महाधिवेशन गर्ने निर्णय गरेको छ। आसन्न फागुन ७ देखि १० गतेको पूर्वनिर्धारित मितिमै १४औं महाधिवेशन गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको हो।

पदाधिकारीको आइतबारको बैठकले आन्तरिक कार्यतालिका गरेर पुरानै मितिमा महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। ‘महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन हुनेछ’, उनले भने, ‘क्रियाशील सदस्यता वितरण र स्थानीय अधिवेशनको कार्यतालिका संशोधन हुन्छ।’ कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन सुरु गरेपछि करिब तीन महिनादेखि कांग्रेसभित्र महाधिवेशनका गतिविधि ठप्प छन्। अघिल्लो वर्ष पुस ११ गतेको केन्द्रीय समिति बैठकले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, यसबीच कोरोनाको असर देखिएपछि चैत ९ गतेदेखि महाधिवेशनका सबै गतिविधि रोक्दै कांग्रेसले कोरोनाबारे सचेतना कार्यक्रम गर्न पार्टीका सबै नेता कार्यकर्तालाई निर्देशन दिएको थियो।

महाधिवेशन कार्यतालिकाअनुसार यतिबेला क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी सदस्यता छानबिनको काम हुनुपर्ने हो। कोरोनाका कारण महाधिवेशन कार्यतालिकाकाअनुसार काम नहुँदा केन्द्रीय महाधिवेशन समयमै हुनेमा आशंका उत्पन्न भएको थियो। अघिल्लो पुस मसान्तभित्र संघीय व्यवस्थाअनुसार पार्टीको सांगठनिक संरचना समायोजनको काम सम्पन्न गर्ने र देशभर क्रियाशील सदस्यता वितरणको काम गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची वैशाख मसान्तभित्र केन्द्रमा पठाइसक्नुपर्ने, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि जेठ १५ गतेसम्मका लागि तोकिएको छ।

क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले साउन १५ गतेभित्र निर्णय गरिसक्नुपर्ने र नयाँ क्रियाशील सदस्यता र नवीकरणको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई साउन २५ गतेभित्र बुझाइसक्नुपर्ने कार्यतालिकामा छ। तर, अहिलेसम्म कांग्रेसमा फागुनमै सक्नुपर्ने सांगठनिक समायोजनको काम सकिएको छैन। प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको समायोजन टुंगो लागे पनि ३० वटा जिल्लामा स्थानीय तह समायोजन बाँकी नै छ। महाधिवेशका लागि महत्वपूर्ण क्रियाशील सदस्यता वितरण स्थानीय तहले गर्ने भएकाले वडा तहको संरचना निर्माण नभएसम्म महाधिवेशन प्रक्रिया लम्बिने निश्चित छ।

वडाले क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान कांग्रेस विधानमा छ। कोरोनाका कारण महाधिवेशन प्रभावित हुने देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय महाधिवेशनको विषय उठाउँदै आएका थिए। उनले यसअघि बसेका दुईवटा पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल गर्नुपर्ने माग गरेका थिए। महाधिवेशनको कार्यतालिका परिमार्जनबारे कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठक असार १६ गते बस्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.