सलहले मकवानपुर र सिन्धुलीमा त्रास

सलहले मकवानपुर र सिन्धुलीमा त्रास

मकवानपुर/सिन्धुली : सलहले मकवानपुर र सिन्धुलीका किसानलाई आतंकित बनाएको छ। भारतबाट तराईका विभिन्न जिल्ला हुँदै मकवानपुर प्रवेश गरेको सलह मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकामा मकैबारी ढाकेर बसेपछि किसान चिन्तित भएका हुन्।

मकवानपुरगढी गाउँपालिका वडा नं ७ सुकौरा र बतासेडाँडामा सलह किराको प्रकोप देखिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए। ‘बतासेडाँडा आसपासमा लगाइएको मकै बारी नै ढाकेर सलह कीरा बसेको देखियो’ उनले भने, ‘शनिबार दिउँसो बाराबाट उडेर उक्त स्थानमा आएको सलह नियन्त्रणको काम भइरहेको छ।’

स्थानीयले बारीमा सलह देख्नेबित्तिकै गाउँपालिकामा खबर गरेका थिए। स्थानीयले विज्ञले बताएअनुसार रातभरी आगो बालेर, थाल ठटाएर बसे पनि सलह नभागेको स्थानीय विशाल लामाले बताए। राती सलह कीरा निष्किृय हुने भएकाले रातको समयमा किटनाशक औषधि छर्न ५ वटा किटनासक औषधि सहितको ट्यांकी प्रवाभित किसानलाई दिइएको कृषि शाखा प्रमुख चौधरीले बताए।

सलहले मकैबारीको मकै, पता धानचमरा सखाप पारिरहेको भन्दै नियन्त्रणका लागि यहाँका किसानले सरकारसँग सहयोग मागेका छन्। गाउँपालिका अध्यक्ष बिदुर हुमागाई सहितको टोलीले सलह प्रभावित स्थानको स्थलगत निरीक्षण गरेको छ। सलह नियन्त्रणको लागि सक्दो प्रयास गरिरहेको बताउँदै अध्यक्ष हुमागाईले १ केजी सलह जम्मा गरे ५० रुपैयाँ गाउँपालिको दिने बताए।

सलह बकैया गाउँपालिकामा पनि देखापरेको छ। शनिबार बकैया गाउँपालिकालको १ नम्बर वडाका विभिन्न स्थानमा सलह देखिएको थियो। सोमबार सलह फैलिएर ४ नम्बर वडाको भीमसेन दमार, जुरेली, ७ नम्बर वडाको भीरकोट र सदरमुकाम बकैयाको बजार क्षेत्र हात्तीसुडेमा पनि सलह देखिएको बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीले बताइन्।

‘मकैबारीमा सलह देखिन थालेकाले कसरी नियन्त्रण गर्ने भन्ने योजना बनाइरहेका छौं’ उनले भनिन्, ‘प्रदेश र केन्द्र सरकारसँग सहयोगका लागि अनुरोध गरेका छौं।’

सात पालिकामा फैलियो सलह
शनिबार जिल्ला प्रवेश गरेको सलह कीरा सिन्धुलीको सात वटा स्थानीय तहमा फैलिएको छ। कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये ७ वटामा सलहको प्रकोप देखिएको हो। सोमबारसम्म जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका र गोलन्जोर गाउँपालिकामा फैलिसकेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद विडारीले जानकारी दिए। ‘जिल्लाको दूधौली नगरपालिका, सुनकोसी गाउँपालिका र फिक्कल गाउँपालिकामा भने हालसम्म सलह कीरा देखा परेको छैन’ उनले भने।

सलह कीराको संक्रमण देखिएका स्थानमा स्थानीय पालिकासँगको समन्वयमा कृषि ज्ञान केन्द्रका प्राविधिक टोलीले अनुगमन गरेको र क्षति विवतरण संकलन थालिएको उनले बताए। ‘पाक्दै गरेको मकै तथा लगाउँदै गरिएको धान र धानको ब्याडमा सलहले क्षति गरे पनि जिल्लामा क्षतिको यकिन विवरण आइसकेको छैन’ विडारीले भने।

शनिबार बिहान भारतको बिहारतर्फबाट प्रवेश गरेको सलह सिन्धुलीका एक ठाउँमा बसेर क्षति पुर्‍याएपछि अर्को ठाउँमा जाने गरेको किसानहरू बताउँछन्।

मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले मरिणको वडा नं. १ को मधुवनी, खलंगा, कात्तिकेलगायत क्षेत्र र वडा नं. २ को खसौरीलगायत क्षेत्रमा ठूलो संख्यामा आएको सलहले मकै तथा धानबालीमा क्षति पुर्‍याएको बताए। शनिबार कमलामाई नगरपालिका २, ८ र १० मा देखा परेको सलह आइतबार मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकामा पुगेको थियो। हरिहरपुरगढी, गोलन्जोर र घ्याङलेख गाउँपालिकामा भने सलहको प्रकोप सोमबारबाट देखापरेको हो।

सूचना संकलन गर्दै प्रदेश सरकार
प्रदेश सरकारले सलह नियन्त्रणका लागि आवश्यक तयारी थालेको जनाएको छ। पालिका र जिल्ला स्तरमा कमिटी निर्माण गरी सूचना संकलन थालिएको कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधानले बताए। ‘सूचना प्राप्त भएलगत्तै प्रकोप देखिएको क्षेत्रमा आवश्यक प्राविधिक र अन्य सहायता उपलब्ध गराउनेछौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.