विद्युतका अवकाश प्राप्त फोरमेनविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त टहलबहादुर कार्कीले अकुत सम्पत्ति आर्जन गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १ करोड १९ लाख ८७ हजार विगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनले सार्वजनिक सेवामा रहँदा २ करोड १२ लाख ४८ हजार आय आर्जन गरेका अख्तियारको अनुसन्धानबाट खुलेको छ । यसै अवधिमा उनले ३ करोड २२ लाख ३६ हजार खर्च तथा लगानी गरेको देखिएको छ । जसको कुल आय आर्जन २ करोड १२ लाख ४८ हजार बाट कुल खर्च तथा लगानी ३ करोड २२ लाख ३६ हजार घटाउँदा हुन आउने र १ करोड ९ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएकोले उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
कार्कीले २०३९ मंसिर १६ मा सार्वजनिक सेवा प्रवेश गरेको थिए । उनको अवकास २०७३ पुस १ मा भएको थियो । उनीविरुद्ध २ वर्षसम्मको कैद सजाय र विगो जफतको माग दाबीसहित मुद्दा दायर गरिएको छ ।