कोरलाको बजेट फ्रिज
जोमसोम : उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको करिब ९० करोड बजेट फ्रिज भएको छ। सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको एक अर्ब ८० करोड बजेट कोरोना संक्रमणका कारण फिर्ता भएको हो।
सो आयोजनाको अनुमानित बजेट ६ अर्ब हाराहारीको छ। मुस्ताङतर्फको एक सय ८६ किलोमिटर सडकमा काम हुन नसकेपछि बजेट फिर्र्ता गएको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए। उनका अनुसार बजेट फिर्ता भएपछि सरकारले तराईका विभिन्न जिल्लाका सडकलाई पठाएको छ। सरकारले पठाएको बजेटबाट ५० प्रतिशत मात्र काम भएको सो आयोजनाका इञ्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए। ‘सडकलाई यो वर्ष एक अर्ब ८० करोड आएको थियो, तर काम नभएपछि बजेट फर्कियो’, उनले भने।
यसअघि कोरला सडक निर्माणमा सयौं उपकरण र बाक्लो संख्यामा मजदुर परिचालन गरिएको थियो। लकडाउनको तेस्रो महिनापछि मात्रै सडकको आशिंक काम सुरु भएको यादवले बताए। बेनी-जोमसोम-कोरला सडकको बेनी-जोमसोमको तीन खण्डमा केही मजदुर तथा उपकरणले काम गरेका छन्। त्यसैगरी चैले -भेना सडक र झैते-चराङ सडकखण्डमा पनि केही मजदुर र उपकरणले आंशिक काम गरेका छन्। जोमसोम कोरला सडकमा श्रावणदेखि कार्तिकसम्म काम भए पनि अत्यधिक हिमपात र कोरोना संक्रमणका कारण विगत ८ महिनादेखि काम ठप्प छ। यस्तै, बेनी-जोमसोम सडकको काम पनि लकडाउनले रोकिएको थियो। म्याग्दीको तातोपानीदेखि थासाङको घासा र थासाङको घासादेखि कोवाङसम्म निर्माणको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीले कोरोना संक्रमणका कारण स्थानीयले सहज रुपमा काम गर्न नदिएको बताएको छ।
म्याग्दी खण्डको काभ्रेभीरमा सडकको ग्रेड मिलान र अन्य स्थानमा नाली र सबवेशको काम भए पनि मुस्ताङ खण्डमा स्थानीयको अवरोधले काम हुन नसकेको सडकका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले बताए। उनका अनुसार म्याग्दीको पहिलो खण्डको राहुघाटदेखि तातोपानी खण्डमा पनि आंशिक काम भएको छ। शर्मा गजुरमुखीले यसै आर्थिक वर्षमा मुस्ताङ खण्डमा कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। स्थानीयको अवरोधपछि सडक कालोपत्रेका लागि फिनिसिङको काम बाँकी रहेको न्यौपानेले बताए। तर, मुस्ताङको कोवाङदेखि जोमसोम खण्डको कामले भने निरन्तरता पाएको छ कोवाङ-जोमसोम खण्डको काम तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपानेले लिएको थियो। सडकको फिनिसिङको काम पूरा गरी कालापत्रे गर्ने तयारी भइरहेको सो निर्माण कम्पनीले जनाएको छ। सडक कालोपत्रे गर्ने बिटामिन र अस्पाल प्लानसमेत ल्याइएको छ।
बेनी-जोमसोम-कोरला सडक २०७४ सालदेखि सुुरु भएको हो। कुल सात प्याकेजमध्ये तीन खण्ड करिडोर सडकलाई हस्तान्तरण भइसकेको छ भने झैते-चराङको निर्माण अन्तिम चरणमा छ। चैले-भेना सडकको काम पनि धमाधम भइरहेको बताइएको छ। तर, जोमसोम -कोरला सडकको चराङ-छोसेर २५ किमि सडकको काम भने विगत डेढ वर्षदेखि हुन सकेको छैन। निर्माण कम्पनीको ढिलासुस्तीका कारण त्यहा ५० प्रतिशत मात्र काम भएको छ। बेनी-जोमसोम-कोरला सडक अन्र्तगत बेनी-जोमसोम ७६ किलोमिटर सडक ११ मिटर चौडा सहित कालोपत्रेको योजना र जोमसोम-कोरला एक सय १० किमी सडक ११ मिटर चौडा ग्राभेल गर्ने योजना रहेको करिडोर आयोजनाले जनाएको छ। जोमसोमदेखि चैले र छोसेरदेखि कोरला नाकासम्म सडक हस्तान्तरण भइसकेकाले कालोपत्रेको पर्खाइमा छ।