ललितपुरमा मनोचिकित्सकसहित शानदार महिला क्वारेन्टाइन
ललितपुर : ललितपुर महानगरपालिकाले भने व्यवस्थित, सुविधासम्पन्न र शानदार महिला क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ। क्वारेन्टाइनमा सामूहिक बलात्कार क्वारेन्टाइनमा भोकभोकै क्वारेन्टाइनमा बसेकाले उपचार पाएनन् क्वारेन्टाइनमा आत्महत्या लगायतका समाचार दिनहुँजसो आइरहेकै बेला यस्तो क्वारेन्टाइन सेवा सुरु गरेको हो। २६ वडास्थित सुनाकोठीमा उक्त क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो।
२७ बेड क्षमताको क्वारेन्टाइन बस्तीभन्दा पर एकान्तमा छ। भौतिक सुविधासम्पन्न देखिने उक्त भवन पोषण पुनस्र्थापना गृहको हो। नेपाल युथ फाउन्डेसनको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए। कोरोनापछि बन्दाबन्दीको समयमा २८ जना रोग लागेर मृत्यु भए पनि १२ सयभन्दा धेरैको आत्महत्याबाट ज्यान गएको छ। त्यसैले आत्महत्या जतिसक्दो रोक्न मनोसामाजिक परामर्शदाता सहितको क्वारेन्टाइन बनाएको उनको दाबी छ। ‘नगरसभाबाट नै यस विषयलाई सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो र पारित गर्यौं पनि’, महर्जनले भने, ‘आत्महत्याको दर जतिसक्दो घटाउने प्रयास गर्नेछौं।’ विभिन्न स्थानका क्वारेन्टाइनको समाचारले मर्माहित र सोच्न बाध्य बनाएपछि महिला र बालबालिकाका लागि फरक क्वारेन्टाइन बनाउन प्रेरित गर्यो।
महिलाका सम्वेदनशीलतालाई बुझेको महर्जनले बताए। ‘क्वारेन्टाइनमा बसेका महिला नै सामूहिक बलात्कारको शिकार बनेका छन्’, उनले भने, ‘त्यसै पनि मानसिक रूपमा दबाबमा हुन्छन्। उहाँहरूलाई सुरक्षित ठाउँको आवश्यकता हुन्छ।’ उक्त क्वारेन्टाइनमा हाल नौजना महिला बसिरहेका छन्। माल्दिभ्सबाट आएका तीनजना, भारत तथा खाडी मुलुकबाट फर्किएका महिला र एक बालक पनि रहेको पोषण गृहका एक कर्मचारीले जनाए। महानगरले सञ्चालनमा ल्याएको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्वारेन्टाइनसमेत व्यवस्थित र सफा भएको दाबी छ। स्टाफ कलेजमा होल्डिङ सेन्टर सञ्चालन गरेको छ। ज्यापु समाजका वृद्धा श्रममा एक सय १० वेडका क्वारेन्टाइनका लागि आइतबार ज्यापु समाजसँग हस्ताक्षर गरेको छ।
पालिकाभर सबैलाई स्यानिटरी प्याड
दक्षिण ललितपुरको कोन्जोस्योम गाउँपालिकाले यस वर्षको बजेटअन्तर्गत महिलालाई स्यानिटरी प्याड बाँड्ने कार्यक्रम ल्याएको छ। १२ देखि ५० वर्ष उमेर समूहका महिलालाई वर्षभर नै स्यानिटरी प्याड वितरण गरिने गाउँपालिकाका प्रमुख गोपीलाल सिंतानले जनाए। उनका अनुसार यस वर्षका लागि उनले ३० लाख रुपैयाँ बजेट छुट्याएका छन्। महिलाको समग्रमा अध्ययन गर्दा संकोच तथा अन्धविश्वासका कारण स्यानिटरी प्याड प्रयोगमा आएको देखिँदैन। तर रजस्वला हुँदा उचित सरसफाई तथा प्याडको प्रयोग नगर्दा स्वास्थ्यमा प्रतिकूल असरसमेत देखिएको बताए। उनका पालिकामा धेरै महिलाले प्याडको विषयमा जानकारी समेत पाएका छैनन्।